संचालनमा आयो बागलुङ बसपार्क

  • भदौ १९, २०८१

बागलुङ -  २३ वर्ष पहिले यहाँका ४१ घरपरिवारले आधुनिक वसपार्क निर्माणका लागि ५२ रोपनी जग्गा प्रदान गरे । वर्षपार्क निर्माणका लागि प्रदान गरेका  जग्गा मध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरेर बाँकी जग्गा जग्गादातालाई फिर्ता गर्नुपर्ने सर्तमामा सम्झौता भयो । बसपार्क निर्माण समिति गठन गरेर २०५८ साल देखी निर्माणको काम अगाडी बढाईयो तर निर्माण कार्य सम्पन्न हुनका लागि २३ वर्ष लाग्यो । बागलुङ नगरपालिका—४ दवगारामा निर्माण भएको बसपार्कको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मंगलबार नै दिउँसो ३ बजे बागलुङ—कोठियाघाटका लागि बस औपचारिक रुपमा सुचारु भएको छ । 
नगरपालिकाले जग्गादाताहरूलाई जग्गा फिर्ताको प्रक्रिया अगाडी बढाउनुका साथै बसपार्कको पहुँचमार्ग विस्तार गरेर बसपार्क सञ्चालनमा ल्याइएको हो । 
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनमा आएसँगै २३ वर्ष देखिको बागलुङवासीको सपना पूरा भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउँछन । 
बसपार्कमा सुविधा सम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । बसपार्क बनाउन नगरपालिकाले नगर विकास कोषबाट करिब ९ करोड ऋण प्राप्त गरेर वसपार्क निर्माणको काम अगाडी बढाएको थियो । 
‘चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ’, नगरप्रमुख श्रेष्ठले भने, ‘यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क संचालनमा ल्याएर बागलुङ बजारको ट्राफिक समस्या आधा घटाउने छौं, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।’ 

मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन । नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताए । 

नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ,  जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ । बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो ।  बसपार्क निर्माणपछि पचास प्रतिशत जग्गा घडेरीका रूपमा पुन फिर्ता गर्नुपर्ने जग्गाधनीहरूसँग नगरपालिकाले सम्झौता गरिएको थियो । बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउँछन ।  
दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । बसपार्क संचालन सँगै सदरमुकाम बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा पनि सहज हुने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया