बागलुङ । जिल्ला सदरमुकाम भएको बागलुङ बजारका सडक साँघुरा छन । बजार क्षेत्रमा सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन ओहोर दोहोर गर्न पनि निकै कठिनाई हुन्छ । मापदण्ड विपरित बनाईएका अवैध र अव्यवस्थित संरचना कारण बजारमा आम नागरिकले शास्ती खेप्नुपरेको छ । बजार क्षेत्र अव्यवस्थित हुने क्रम बढ्दै गए पश्चात बागलुङ नगरपालिकाले यसलाई हटाउन लागेको छ । नगरपालिकाले बजार क्षेत्रको सडक पेटीमा राखिएका सामाग्री हटाउनुका साथै अव्यवस्थति ढंगले संचालन गरिएका ठेला गाडा र पोके व्यापारीलाई पुर्ण रुपमा निशेध गरेको छ भने अवैध संरचना हटाउन लागेको छ । नगरपालिकाले आफ्नै कार्यालय अगाडी सडकको मापदण्ड भित्र पर्ने कृषि ज्ञान केन्द्र र आफ्नै कार्यालयको पर्खाल भत्काएको छ । त्यसैगरी बुधबार वडा नं. ३ का वडा अध्यक्ष सोनी केसी लक्ष्मणको नेतृत्वमा बागलुङ एफएम चोक देखी होटल दि राजन सम्मको सडकमा पनि मापदण्ड विपरित बनेका संरचना भत्काएको छ । सडक मापदण्ड अनुसार बागलुङ ट्राफिक चोकदेखि धौलागिरी अस्पताल गेटसम्म ९ मिटर सडक हुनु पर्ने इन्जिनियर त्रिलोचन गिरीले बताउँछन ।
बागलुङ बजारको सौन्दर्य निर्माण गर्ने, सडक दुर्घटना न्यूनिकरण गर्ने लगायतका उद्धेश्य राखि मापदण्ड विपरितका घर, टहरा र पर्खाल लगायतका अवैध र अव्यवस्थित संरचना हटाउन लागिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । उनले पहिलो चरणमा सवै नागरिकलाई सुसुचित गरी तोकिएको समयमा हटाउनुपर्ने संरचना नहटाएपछि बजार व्यवस्थापन समिति र नगरपालिकाले आफै हटाउन लागेको बताए ।
“हाम्रो नगर राम्रो नगर बनाउने हामी सवैको कर्तव्य हो, बजार क्षेत्रमा अव्यवस्थित र मापदण्ड विपरित बनेको सवै संरचना क्रमश हटाउँदै जानेछौं, नगरप्रमुख श्रेष्ठले भने –‘नगरलाई स्वच्छ र सफा नगरको रुपमा विकास गर्न हामी प्रतिवद्ध छौं, बजार क्षेत्रमा समस्याको रुपमा रहेको पार्किङको व्यवस्थापन पनि छिट्टै गर्ने प्रक्रियामा छौं, यसका लागि जग्गा व्यवस्थापन सँगै समस्याको समाधान हुन्छ । उनले बजारमा बनेका अवैध संरचना हटाईरहँदा सिंगो बजारबासीलाई नै फाईदा पुग्ने बताए ।
बजारमा अव्यवस्थित बनेको सवै संरचना क्रमश हटाउँदै जाने बजार व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरे बताउँछन । घिमिरेका अनुसार पहिलो चरणमा मापदण्ड विपरित बनेका संरचना हटाउन सम्बन्धीत जग्गाधनीलाई नगरपालिकाले सूचना गरिसकेको प्राविधिक सहितको टोलीले आवश्यक नापजाँच गरी रेखाङकन गरे पश्चात संरचना हटाउन आग्रह गरिने छ । निश्चित समयमा संरचना नहटाएमा नगरपालिकाले आफै हटाउने कार्यविधि बनेको घिमिरे बताउँछन ।
सडक पेटीमा राखिएका सामाग्री हटाईयो
नगरपालिकाले सडक अतिक्रमण गरि राखिएका सामान हटाउने अभियानलाई अझै थप कडाईका साथ अगाडी बढाउने बताएको छ । नगरपालिकाले ठेला गाडामा तरकारी, फलफूल, चटपट लगायतको खुल्ला व्यापार हटाउनेदेखि सडक अतिक्रमण गरि राखिएको सामान श्रावण १४ गते देखी नै हटाएको थियो । साँगुरो बजारको सडकमै जथाभावी ठेलागाडा तथा सडक व्यापारकै कारण सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या, दुर्घटनाको जोखिम बढ्ने भन्दै नगरपालिका निर्मम बन्न बाध्य भएको संयोजक घिमिरेले बताए । ‘नगरपालिकाले निश्चित मापदण्ड विपरित बनेका संरचना सवै हटाउने गरी बजार व्यवस्थापन समिति बनाएको छ संयोजक घिमिरेले भने,–‘ समितिले नगरप्रमुख श्रेष्ठको घर अगाडी बनेको वालमा समेत हटाउन निर्देशन दिएको छ, अन्य ठाउँमा पनि पहिलो चरणमा हामी रेखांकन गछौं । समयमा नहटाए डोजर लगाउन बाध्य हुनेछौं, व्यवस्थापन समितिको सिफारिसमा नगरपालिकाले संरचना हटाउने छ । नगरपालिकाले अन्य व्यक्ति तथा संस्थालाई त्यस्ता मापदण्ड विपरितका संरचना हटाउन साउन मसान्तसम्मको समयावधि दिएको छ । साउन मसान्तसम्ममा नहटाएमा पालिका स्वयम आफैले भत्काई दिने बताईएको छ ।
कृषि जन्य उत्पादनका निम्ती निश्चित समय निर्धारण
नगरपालिकाले कृषकहरुले उत्पादन गरेको तरकारी लगायत कृषि जन्य उत्पादनको विक्रि वितरणका लागि बिहान ९ बजेसम्म र साँझ ६ बजेपछि समय निर्धाराण् गरेको छ ।
नगरकार्यपालिकाले बजार व्यवस्थापन कार्यविधि बनाएर मापदण्ड विपरितका संरचना हटाउन लागेको हो । स्थानीय सरकारले बनाएको कानुन कार्यन्वयन गर्ने दायित्व जनप्रतिनिधि र सर्वसाधारण नागरिक सबैको रहेको भन्दै सकारात्मक सहयोग गर्न नगरपालिकाले बजारबासीलाई आग्रह समेत गरेको छ । बजारका व्यापारीले सडक पेटीमा राखेको सामाग्री हटाएको विषयमा भने बागलुङका उद्योगी व्यवसायीले विरोध गरेका छन । उनिहरुले पछिल्लो समयमा व्यापार व्यवसाय घट्दै गएको समयमा नगरपालिकाले व्यापारीको सामाग्री हटाउनु र उठाएरै लैजाने काम व्यवसायीक हित विपरित भएको बताएको छ ।