जिल्लाको गलकोट नगरपालिका गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले आफ्नो पोल्टामा पारेको नगरपालिका हो । मेयर उपमेयर सहित बहुमत वडामा काँग्रेसले जितेको छ । त्यसले गर्दा पनि गलकोटमा अहिले दुई जनाको नाम पार्टी सभापतिका लागि चर्चामा रहेको छ । गलकोट नगरपालिकाको सभापतिका लागि वडा नम्बर ५ हरिचौरका वडाध्यक्ष एवं वर्तमान नगर सभापति नारायणध्वज मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष एवं नगर सचिव विरजङ भण्डारीले उम्मेदवारी घोषणा गरेर अगाडि बढेका छन् । नगर सभापतिमा मुकुन्दसिंह भण्डारीको पनि नाम चर्चामा रहे पनि उनले खुलेर उम्मेदवारी घोषणा गरेका छैनन् । उनले साथीहरुसंग छलफलकै चरणमा रहेकाले टुंगो लागेपछि जानकारी गराउने बताए ।
पार्टीलाई चुस्तदुरुस्त बनाउनका लागि मेरो उम्मेदवारी—विरजङ भण्डारी
म विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको हो । पारिवारिक माहोल पनि राजनीति भएकाले होस सम्हालेदेखि नै झण्डा बोकेर हिँडियो । म वडाको सभापति भैसकेको, वडाध्यक्षको रुपमा जनप्रतिनिधि भएको अहिले नगर सचिवको पनि जिम्मेवारीमा रहेकाले अब सभापतिको दाबी मेरो स्वाभाविक दाबी हो । लामो समयसम्म नगरमा पार्टीको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी अगाडि बढ्न सकेन, पार्टीलाई चुस्तदुरुस्त बनाउनका लागि र राजनीतिमा आउनका लागि प्रेरित रहेको युवाहरुलाई अगाडि बढाउनका लागि मैले सभापतिमा दाबी गरेको हुँ ।
अहिले युवाहरुको राजनीतिमा जसरी युवाहरुको जोस जाँगर देखिएको त्यसलाई पार्टी निर्माणमा लगाउनुपर्छ भन्ने मेरो मान्यता छ । यो कतिन्जेल रहन्छ भन्न सकिने अवस्था छैन । अहिलेको युवाको जोस जाँगरलाई काँग्रेसमा लगानी गरियो भने बलियो पार्टी बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ । मेरो जिम्मेवारी त काँग्रेसलाई अप टु डेट राख्ने हो । पार्टीको बैठक तथा प्रशिक्षणहरुलाई तिब्रता दिनुपर्ने छ । पार्टी सदस्यता छ तर पार्टीको प्रशिक्षण छैन त्यसले गर्दा हाम्रा कार्यकर्ताहरु चलायमान छैनन् । गाउँघरमा अन्य पार्टीसंग डिलिङ गर्नका लागि कार्यकर्तालाई सक्षम बनाउनका लागि प्रशिक्षण जरुरी छ । काँग्रेसलाई सैद्धान्तिक र वैचारिक हिसावले निष्ठाको राजनीतितर्फ अगाडि बढाउनका लागि पनि मेरो उम्मेदवारी हो ।
भोलिको दिनमा पार्टीलाई बजबुद बनाउनका लागि पार्टीलाई चलायमान बनाउने हो । काँग्रेसलाई दिनरात खटेर संगठन बनाउने योजना छ । त्यसले गर्दा स्थानीय तहमा हाम्रो उम्मेदारलाई जिताउन सकिन्छ भन्ने मलाई लाग्छ । हामी मिलेर जाने चरणमा छौं । गुट उपगुटको अन्त्य गरेर अगाडि बढ्न योजना छ । गलकोटमा सर्वसम्मत नेतृत्व चयन गर्ने गरी हामी छलफलमा छौं । पार्टीको योगदानको हिसाबले हेर्दा हामी जन्मनु भन्दा अगाडिबाट लाग्नुभएको व्यक्तिहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई अपग्रेड गरेर अगाडि बढाउने र युवा पुस्ताले नेतृत्व लिने हो । युवाहरुलाई साथ दिएर अगाडि बढाउँदा काँग्रेस र उहाँहरुलाई पनि सजिलो हुन्छ । जिम्मा लिएर सशक्त रुपमा काम गर्न नसक्नेहरुले विदा लिनुस् भन्ने हो, काम गर्न सक्नेहरुलाई अगाडि बढाउने हो ।
अग्रजलाई सम्मान गर्दै युवाहरुलाई पार्टीमा अगाडि बढाउनुपर्छ भन्ने लाग्छ । अहिले पद लिने र काम नगर्ने पनि प्रवृत्ति पनि छ, सबैप्रति सम्मान छ तर पद लिएपछि काम गर्नुपर्छ भन्ने मेरो विचार हो । सबैलाई ससम्मान अगाडि बढ्ने हो । नेविसंघमा सानैबाट लागियो । पारिवारिक पृष्ठभूमि पनि राजनीति नै भएपछि इकाई सभापति हुँदै नेविसंघ जिल्ला सदस्य भएँ । यता पार्टी सभापति भएर जनप्रतिनिधि भइयो । सहसंयोजक र अहिले सचिवको भूमिकामा छु । त्यसले गर्दा नगर सभापतिमा मेरो उम्मेदवारी स्वाभाविक छ ।
काँग्रेसलाई चलायमान गराएर नेतृत्व हस्तान्तरण गर्ने इच्छा छ —नारायणध्वज मल्ल
नयाँ संरचना भएपछि गलकोट नगरपालिका बन्यो । गलकोट केन्द्र वडा नम्बर ५ हरिचौरमा रहेका नाताले गर्दा म पार्टीको नगर संयोजक भएँ । त्यसपछि निर्वाचन भयो । नगर कार्यसमितिले पूर्ण रुपमा काम गर्ने अवस्था भएन । अधिवेसनले पूर्ण समिति चयन गरेर आधिकारिक कार्यसमिति बन्छ । त्यसले गर्दा मैले काम गर्दा एक कार्यकाल काम गर्नुपर्छ भन्ने लागेको हो । सभापति दाबी गर्दै गर्दा अहिले आउने स्थानीय निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्नेछ । पालिका र वडाको पार्टी कार्यालय व्यवस्थित गर्ने काम पनि छ । एउटा सजिलो संगठन विस्तारका लागि सहज बनाउन खोजिरहेको छु ।
विशेष गरी धेरै ठाउँमाहरुमा पार्टी कार्यालय व्यवस्थित गर्नुपर्ने काम छन् अहिलेलाई जबरजस्ती काम चलाएको भयो । संस्थागत रुपमा नगरको सभापतिको कार्यसमिति चलाउनका लागि मैले संस्थागत बनाउन खोजेको छु । नगरमा ११ वटा वडाका सभापति जम्मा भएर काम गरेको त्यसले गर्दा राम्रोसंग अगाडि बढ्न सकिएन । वडा सभापति र नगरमा पनि सदस्य हुँदा काम राम्रोसंग अगाडि बढ्न सकेन । अधिवेसन नहुँदासम्म केन्द्रको सभापतिले नै संयोजक गर्ने भन्ने कुरा थियो । युवाहरुको जागरण भएको छ । मभन्दा माथिको पुस्ता र नयाँ युवाहरुलाई समन्वय गरेर पार्टीलाई व्यवस्थित गरेर बलियो पार्टी बनाउन सक्छु भन्ने मेरो विश्वास छ र त्यसले गर्दा मैले एक कार्यकाल नगरमै बस्ने निधो गरेको हुँ । म पहिले विद्यार्थीकालमा कम्युनिष्टमा थिएँ । चित्रबहादुर केसी, झलनाथ खनाल मेरो राजनीतिक गुरुहरु हो ।
एसएलसीपछि केही वर्ष शिक्षण गरें र युके आर्मीमा भर्ती भएँ । २७ वर्ष बाहिर बसेपछि २०६४ सालदेखि म गलकोटमा बसेर काँग्रेसमा छु । सहिद थिरबम मल्लको परिवारको मान्छे हुँ । म ५२ सालदेखि काँग्रेसको सदस्य थिएँ । पार्टीको १३ औ महाधिवेशनमा हरिचौरको सभापति बनाएको थिएँ । म गलकोट नगर विकास समितिको अध्यक्ष रुपमा हुँदा नगरपालिका बनाउन पनि महत्वपूर्ण फाइल अगाडि बढाउनका लागि पनि मैले भूमिका खेल्ने मौका पाएँ । मेरा छोराछोरी अहिले पनि युकेमा छन् ।
म बुबा आमा कुरेर यहाँ बस्दै सामाजिक र राजनीतिक काममा लागेको हुँ । अहिले मेरो आफ्नो कुनै स्वार्थ छैन । पेन्सन खाँदै बस्ने गरेको छु । त्यसले गर्दा जतिबेलै पनि पार्टीको लागि समय दिन सक्छु । युके त्यागेर यहाँको समाजको विकासका लागि बाँकी जीवन समर्पण गर्ने भनेर म यहाँ बसेको हुँ । एक पटक गलकोट नगरमा काँग्रेसलाई चलायमान गराएर नेतृत्व हस्तान्तरण गर्ने इच्छा छ ।