बागलुङ कालिकाद्वारा अर्थमन्त्री भेटेर बाढी प्रभावित क्षेत्रका लागी सहयोग

  • भदौ १९, २०८३

बागलुङ ! भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद सहयोग गरेको छ । समितिले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशिल खड्काको विशेष उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो । उक्त सहयोग रकम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्का र सचिव निसान खड्काले संयुक्तरूपमा अर्थमन्त्री वाग्लेलाई बुझाउनुभएको हो । 
चेक ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले संकटको घडीमा बागलुङ कालिका गुठीले देखाएको यो मानवीय संवेदनशीलता र सहयोगको सराहना गर्नुभयो । उहाँले उक्त रकम बाढी पीडितको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत र पुनरुत्थानमा उपयोग गरिने प्रतिबद्धता जनाउनुभयो । धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको बागलुङ कालिका भगवती गुठीले यसअघि पनि विभिन्न दैवी प्रकोप र संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय