‘काठेखोलाका हरेक वडाका विशिष्ट पहिचानको स्थापित गरिने छ -राजु थापा

  • ब‌ैशाख २५, २०७९

पाँच दलीय गठबन्धनको चुनावी सभा जिल्लाको काठेखोला गाउँपालिका—१ पालामा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभा पालामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले पालाको विशिष्ट पहिचान स्थापित गराउने बताए । ‘नेपालको राजनीतिक परिवर्तनमा पालाले छुट्टै खालको भूमिका खेलेको छ,’ उनले भने,‘यहाँ वडाले सहिद पार्कको कामलाई अगाडि बढाएको रहेछ । यहाँको विशिष्ट पहिचान स्थापित गर्नका लागि हामीले विशेष योजना लिएर अगाडि बढ्नेछौं ।’ 
उनले वडामा पहिचान भएका रणनीतिक महत्वका सडकहरुको स्तरोन्नती गरेर सहज बनाउने बताए । ‘रणनीतिक महत्वका सडकलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्छौं,’ उनले भने,‘गाउँपालिका भित्रको रिङरोडलाई पक्की बनाउने हाम्रो काम हुनेछ ।’ सामाजिक विकासका लागि स्वास्थ्य शिक्षा र स्वरोजगार मूलक तालिममा विशेष जोड दिने बताए । ‘शिक्षा क्षेत्रमा गरिएको लगानीले अहिले लगानी अनुसारको प्रतिफल दिन सकेका छैन,’ उनले भने,‘शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर सुधार गर्ने र स्वाथ्य क्षेत्रमा विशेष ध्यान दिनेछौं ।’ 
उनले युवालाई गाउँमै स्वरोजगारमूलक तालिम प्रदान गरेर उत्पादन मूलक क्षेत्रमा लाग्न प्रेरित गर्ने र उद्यम गर्ने युवाहरुलाई अनुदानको व्यवस्था पनि गर्ने बताए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा तिलकले कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने बताए । ‘हाम्रो गाउँपालिका भित्रको मुख्य क्षेत्र भनेको कृषि, पर्यटन र पशुपालन नै मुख्य हो,’ उनले भने,‘यी क्षेत्रलाई प्राथमितामा राखेर योजना बनाउँछौं । आर्थिक समृद्धिको मुख्य पाटो नै यही हो ।’ 
उनले युवाहरु विदेश जाने र परिवारका सदस्यहरु बजार केन्द्रीत हुँदा गाउँहरु रित्ता हुँदै गएको भन्दै विदेश पलायन रोक्नका लागि स्वरोजगारका कार्यक्रम ल्याउने बताए । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका—१ पालका वडाध्यक्षका उम्मेदवार खडकबहादुर थापाले वडा भित्रका शिक्षा स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिने बताए । ‘हामीले यहाँको भौतिक क्षेत्रमा केही काम विगतमा पनि गरेका छौं,’ उनले भने,‘बाँकी रहेका क्षेत्रको विकास गर्नुपर्नेछ । विपद व्यवस्थापनका लागि काम गर्नुपर्नेछ ।’ 
उनले सबैको सहयोगबाट वडा कार्यालयको निर्माण र सहिद पार्कको व्यवस्थापन सुरुवात भएकोले त्यसलाई पूरा गर्ने बताए । ‘यहाँको माटो परीक्षण गरेर माटो सुहाउँदो उत्पादनका लागि किसानहरुसंग सहकार्य गछौं,’ थापाले भने,‘पालाको समग्र विकासका लागि योजनावद्ध ढंगले खटिन्छौं ।’ कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सदस्य लालबहादुर थापाले केपी ओलीको प्रतिगमनका विरुद्धमा गठबन्धन बनेको र यो स्थानीय निर्वाचनमा गठबन्धनले जित्नु जरुरी रहेको बताए । ‘यो निर्वाचन गठबन्धनले जित्नुपर्छ, किनकी यो गठबन्धन अग्रगमनको गठबन्धन हो, प्रतिगमनको विरुद्धको गठबन्धन हो,’ थापाले भने,‘देश र संविधानको रक्षार्थ हामीले गठबन्धन गरेका हौं । हामीले जित्नुको विकल्प छैन ।’
 कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य केसरी घर्ती, नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापा, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष एवं केन्द्रीय सदस्य क्याप्टने हरिबहादुर भण्डारी, नेपाल दलित संघ बागलुङका अध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष ताराबहादुर विक, पालाका पूर्व गाविस अध्यक्ष हरिप्रसाद शेरचन, माओवादी केन्द्रका प्रेम किसान लगायतले मन्तव्य राखेका थिए । निर्वाचन परिचालन समिति पालाका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत झकबहादुर किसान र सञ्चालन रनिश रानाले गरेका थिए । 
 

प्रतिक्रिया