बडिगाड घटना प्रकरण: प्रहरी बरिष्ठ नायब निरिक्षक पौडेलको हत्या भएको खुलासा

  • साउन १०, २०८०

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार रात मृत भेटिएका भिमगिठे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक उज्वल पौडेलको हत्या भएको खुलेको छ। 

पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोदको कुछपिटबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए। 

सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा–छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तिले हानेर बेहोस भएपछि पर्दाको कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला केसीले जानकारी दिए। 

पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मंगलबार घटनास्थलबाटै पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार आशा होटल एण्ड खाजा घरका सञ्चालक आमा–छोराको प्रारम्भिक बयानबाट घटनाको यथार्थ बाहिर आएको हो। खाजा घरमा सोमबार राति ८ः०० बजे गएका पौडेलको ११ः३० हत्या भएको थियो।

हत्यापश्चात् होटल सञ्चालनले वडाध्यक्षलाई खबर गरेपछि घटना बाहिर आएको थियो। मृतक पौडेलको शव पोष्टमार्टमको लागि मंगलबार साँझ नै गण्डकी स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरा लगिएको छ। 

सोमबार दिनभर वडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाइ इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेका थिए। 

प्रतिक्रिया