काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई 'सुनजिक पश्चिम' बनाउने पार्टीको एजेन्डा रहेको बताएका छन् । सुदूरपश्चिममा बुधबार आयोजित पार्टीको चुनावी सभामा करिब साढे ३ मिनेटको छोटो भाषणमा उनले भने, 'बेली छकालै एउटा सुइना देखेको थिएँ, सुदूरपश्चिम बनेको, देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।'
उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै भने, 'खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो।'
बाटो निर्माणमा हुने राजनीतिक पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा समेत उनले जोड दिँए । सुदूरपश्चिमको पर्यटन सम्भावनालाई उजागर गर्दै उनले स्विजरल्याण्ड बनाउने कुरा गर्नु नपर्ने बताए।
'स्विजरल्याण्डको बाउ बडी मालिका, रामारोशन र खप्तड नेसनल पार्क यहीँ छन्,' उनले भने, 'हामी नेपालीहरु माल पाएर चाल नपाएको जस्तो भयौं।' उनले भोट भन्दा पनि आफूहरु काम माग्न आएको बताए।
के छ हालचाल ?
निकै छौ कि नाइँ? बेली छकालै एउटा सुइना देखेको थिएँ, सुदूरपश्चिम बनेको, देश बनेको। त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। भोरा जी बुझेछौ कि नाइँ?
खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने? यो भेगमा मेरो भोट छैन, किन बाटो बनाउने ?
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन्, स्विजरल्याण्डको बाउ बडी मालिका यहीँ छ, किन बनाउनुपर्यो स्विजरल्याण्ड ? स्विजरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ, किन बनाउनुपर्यो स्विजरल्याण्ड? खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्विजरल्याण्ड ? हामी नेपालीहरु माल भएको चाल नपाएको मान्छेहरु पर्यौं। भएको चिज देखाउनै सक्या छैन ।
सुदूरपश्चिमलाई जोड्नै सक्या छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकारहरु हुनुहुँदो रहेछ। आठ लाख सब्स्क्राइबर भएको, एक मिलियन सब्स्क्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन ।
जुन दिन सुदूरपश्चिमको गीतहरु काठमाडौँको चोक चोकमा बज्छ, अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनुपर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा।
तपाईंहरुलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है। तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो, के के छ तपाईंहरुको काम, हाम्रा उम्मेदवारहरुलाई, हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले ।
हजुर ? आँखा हेर्नु पर्दैन, काम हेर्नुहोला, म धेरै बोल्दिन, धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तमुलाई। आई लभ यू।