बागलुङ- नेपाली क्यालेण्डर अर्थात विक्रम संवतको पात्रोले एक चक्र पार गरेको छ । बिहीबारबाट भित्तामा नयाँ क्यालेन्डर झुण्डिदैछन् । पृथ्वीले सूर्यको वरीपरी एक फन्को पारेको छ । पृथ्वीले सूर्यको एक फन्को लगाउँदै गर्दा थुप्रै घटना र परिघटनाहरु भएका छन् । नेपाल भित्रको नेपाल भनेर चिनिने बागलुङमा पनि यो बीचमा विभिन्न घटना परिघटनाहरु भए । यो एक वर्षको बीचमा भएका प्रमुख घटनाहरुलाई हामीले यहाँ प्रस्तुत गर्ने प्रयास गरेका छौं ।
राजनीति
संविधान निर्माणपछि राजनीतिक स्थायीत्वका लागि भन्दै देशका कम्युनिष्ट शक्तिहरु एक ठाउँमा उभिएर मत माग्दा जनताले पत्याए र झण्डै दुर्य तिहाई नजिकको मत दिए । तर मतको दुरुपयोग गरेर दलहरुले आपसी झगडामा फसेपछि त्यसको असर बागलुङमा पनि प्रत्यक्ष प¥यो । गण्डकी प्रदेश सरकार गठनको समयमा राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्यहरुले खेलेको भूमिकाले गर्दा बागलुङ ज्यादा चर्चामा रह्यो । तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विपक्षमा मतदान गर्न राजमो केन्द्रले दिएको निर्देशन विपरीत गण्डकी प्रदेशमा बागलुङका कृष्ण थापा र खिमविक्रम शाहीले खेलेको भूमिकाले बागलुङलाई चर्चामा ल्यायो ।
प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गरेपछि निर्णय हुने दिन अचानक बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट उपनिर्वाचनमा निर्वाचित शाही वेपत्ता भएका थिए । प्रदेश सभा बैठक अगाडि गरिएको स्वास्थ्य परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो । वेपत्ता शाही अस्पतालमा भेटिएपछि उनलाई कोरोना संक्रमण भएको बताईएको थियो । यो घटनाले गण्डकी प्रदेशमा मात्रै होईन नेपालमै हंगामा मच्चायो । जनमोर्चाकै अर्का सांसद तथा संसदीय दलका नेता कृष्ण थापाले केन्द्रको निर्देशन लत्याउँदै प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग नगर्ने जिद्दी गरेपछि उनललाई जनमोर्चाले कारबाही ग¥यो ।
त्यसको विरुद्धमा उनी अदालतसम्म पुगे पनि अन्ततः उनी अहिले गाउँमा सुन्तला खेती गरेर बसेका छन् । प्रदेश र संघीय सरकारमा बागलुङबाट एक जना पनि मन्त्री हुन नसकेको विषय निकै चर्चामा रहन्थ्यो । बितेको वर्ष भने नयाँ प्रदेश सरकार गठन भएपछि गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाट मणिभद्र शर्मा कँडेलले पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री र नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढा सागर कृषि तथा सहकारी मन्त्री बने । संघीय सरकारमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद देबेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्न सफल भए । यही वर्ष नेपाली काँग्रेस र एमालेका जिल्ला अधिवेसन सम्पन्न भए ।
नेपाली काँग्रेसमा अहिलेसम्म पनि क्षेत्र नम्बर २ बाट पार्टी नेतृत्वमा पुग्न नसकेको भन्ने भेगीय सेन्टीमेन्ट यस पटक जिल्ला अधिवेसनमा प्रखर रुपमा देखियो । त्यसको परिणाम स्वरुप बागलुङ क्षेत्र नम्बर २ बाट पहिलो पटक ढोरपाटन नगरपालिकाका जितबहादुर शेरचन नेपाली काँग्रेस बागलुङको सभापतिमा निर्वाचित भए । यस पटक नेपाली काँग्रेस बागलुङको बहुमत पदाधिकारी पनि क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।
नेकपा एमाले बागलुङको अधिवेसनमा पनि क्षेत्रगत प्रतिनिधित्वको कुरा चर्को रुपमा उठेपछि जिल्ला उपाध्यक्षमा ढोरपाटनका लक्ष्मण पुन र बडिगाडका विष्णु भुसाल सचिवमा सर्वसम्मत भए । जिल्ला उपसचिवमा गलकोटका डम्बर श्रीस उपसचिवमा निर्वाचित भए । वर्षको अन्त्यतिर आईपुग्दा नेकपा माओवादी केन्द्र बागलुङको जिल्ला समन्वय समिति संयोजकमा बडिगाडका राजिव घिमिरे चुनिए ।
आर्थिक/सामाजिक
वर्षको सुरुवातमा बागलुङ कोरोनाको खतराको सूचीमा प¥यो । जसका कारण आर्थिक तथा सामाजिक गतिविधिहरु ठप्प भए । दशैं तिहारको समयमा केही चलायमान हुन खोजको आर्थिक क्षेत्र कोरोनाको तेस्रो लहरको जोखिममा परेपछि फेरी ठप्प हुन पुग्यो । पछिल्लो दुई महिना यता कोरोनाको अवस्था शान्त हुँदै गएपछि अहिले आर्थिक गतिविधिहरु बढेको छ । पर्यटकीय क्षेत्रहरुमा चहल पहल बढेको छ । कोरोना कारण थला परेका होटल व्यवसायहरु विस्तारै लयमा फर्किने क्रममा छन् । लामो पुल निर्माण भएपछि पर्यटकीय आकर्षणको ठाउँ थपियो ।
विकास निर्माण
लामो समयदेखि काम पूरा नभएका कारण चर्चामा रहेको मध्यपहाडी लोकमार्गको काम यो पटक पनि पूरा भएन । कोरोनाको समस्या देखाउँदै सरकारले चैत मसान्तसम्म म्याद थप गरिदिए पनि अहिले काम पूरा हुन सकेको छैन । असार मसान्तसम्म कही अंश कालोपत्रे हुनेगरी काम सुभए पनि खहरेदेखि बिहुँको तल्लो खण्डसम्मको कामले कुनै गति लिन सकेको छैन । बागलुङमा देखिनेगरी भएको काम बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रे नै हो ।
कालोपत्रे भए पनि बसपार्क र विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन । नेपाली सेनाले हस्तान्तरण गरेपछि कालीगण्डकी करिडोरको कामले गति लिन सकेको छैन । ढोरपाटन सालझण्डी सडकको अवस्था उस्तै छ । गण्डकी प्रदेश सरकारले नीति कार्यक्रममा अक्षेते—गलकोट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने भने पनि मूत रुप लिएको छैन ।
धौलागिरि अस्पतालको ‘सी’ ब्लकको निर्माणले यो साल पनि पूर्णता पाउन सकेन । मल्म काँडेबास जोड्ने पक्की पुलको कामले कुनै गति लिएन । बागलुङ कुस्मीसेरा सडकखण्डमा गएको पहिरोले तीन महिनासम्म दक्षिण बागलुङका जनताले दुःख पाए । राम्रो मर्मत सुधार नहुने हो भने आउने बर्खा पनि दुःख पाउने निश्चीत छ ।
शिक्षा/स्वास्थ्य
बागलुङको ताराखोला, तमानखोला, बरेङ गाउँपालिको स्थानीय पाठ्यक्रम तयार गरे । गलकोट नगरपालिका र बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाले पनि आगामी शैक्षिक शत्रदेखि लागु गर्नेगरी स्थानीय पाठ्यक्रम तयार गरेका छन् । जिल्लाको तमानखोला र बरेङ गाउँपालिकाले शिक्षामा विशेष लगानी गरेको छ ।
स्वास्थ्यतर्फ बागलुङका अधिकांस पालिकामा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढेको छ । कोरोना महामारीका कारण धौलागिरि अस्पतालमा अक्सीजन प्लान्ट जडान भएको छ । कोरोनको पिसिआर परीक्षण पनि यही हुन सम्भव भएको छ । जनशक्ति र पूर्वाधारको अभाव भने अझै पनि अस्पतालले खेपिरहेको छ ।
अन्य
गत साउनमा गलकोट नगरपालिका—७ मल्ममा घरेलु मदिरा सेवनबाट चार जना मजदुरले ज्यान गुमाउनुप¥यो । कोभिड खोपमा जनप्रतिनिधि स्वास्थ्यकर्मी र पहुँचवालाले मनपरी आफ्नो मान्छेलाई मापदण्ड बाहिर गएर खोप लगाउने काम गरेको गुनासा सुनिए । धौलागिरि अस्पतालमा ट्रमा सेन्टर बनाउने प्रदेश सरकारको घोषणा घोषणामै सिमित भयो । बागलुङ नगरपालिका—७ मा योजना सम्पन्न नभई भुक्तानी भएको विषयले चर्चा पायो । बागलुङ बजारको मुख्य चोकमा गरिएको कालोपत्रे एक हप्ता नपुग्दै भत्किएको देखियो । ढोरपाटनका बाढी पीडितले यो वर्ष पनि राहत पाउन सकेनन् ।
कोरोना महामारीमा सुरक्षा मापदण्ड पालना नगर्दा बडिगाडमा एकै परिवारका चार जनाले ज्यान गुमाउनुप¥यो । कालीगण्डकी नदिमाथिको चरम दोहन रोक्न स्थानीय युवाले सक्रियता देखाए । कार्यकाल सकिनै लाग्दा बागलुङ नगरपालिका उपप्रमुख र बानपा—४ का वडाध्यक्ष लगायत इन्जिनियर र अन्य विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि अहिले पनि निलम्बित अवस्थामा छन् ।
वर्षको अन्त्यतिर मेला महोत्सव र खेलकुदका गतिविधिलाई तिब्रता पायो । बागलुङमा जिल्ला लिग फुटबल सम्पन्न भयो । लखन कप, गलकोटमा मेयर कप भलिबल प्रतियोगिता भए । चैत्राष्टमी मेलामा कालिका कप भलिबल, दोहोरीगित प्रतियोगिता लगायका कार्यक्रम भए । गलकोटमा महोत्सव भयो । समग्रमा बागलुङमा वर्ष २०७८ मा उत्साह लाग्ने त्यस्तो उल्लेख्य काम केही भएन ।