एमाले बागलुङ - १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना

  • माघ १८, २०८२

बागलुङ- नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै एमाले क्षेत्र नं. १ का उमेदवार हिराबहादुर केसीले अबको निर्वाचनबाट एमाले पुननिर्माण भएर आउने बताए । ‘पार्टीभित्र खिया लागेको छ, त्यो हटाएर अब पुननिर्माण भएको पार्टी चाहिएको छ’ उनले भने, ‘त्यसका लागि एमालेले क्रान्तिकारी दल बनाउने लक्ष्य बोकेको छ ।’ जनताले चाहेजस्तो दल बनाएर २०८४ मा हुनुपर्ने निर्वाचन किन २०८२ मा भयो भन्ने बुझाउनुपर्ने बताए । उनले अबको निर्वाचनको परिणाम एमालेको पक्षमा नआए देशले हार्ने बताए । जनताको विकास र समृद्दिको एजेण्डा हार्ने अवस्था आयो भने दुर्भाग्य हुने भन्दै एमालेले बोकेको एजेण्डालाई जिताउन सबै कार्यकर्ता एक भएर लाग्नुपर्ने पनि बताए ।

उनले फरक सन्दर्भ र दिर्घकालिन प्रभाव बुझेर नागरिकलाई मतदान गर्ने बाटो खुलाउन आग्रह गरे । कार्यालय उद्घाटनमा केन्द्रीय सदस्यहरु मनकुमारी केसी, सूर्य पाठक, पूर्व अध्यक्ष इन्द्रलाल सापकोटा लगायतका नेता तथा कार्यकर्ता सहभागि थिए । यतिबेला राजनीतिक दलले निर्वाचन प्रचारप्रसार अभियानअन्र्तगत घरदैलो अभियान गरिरहेका छन् ।

हाल मतदाताको घरघरमा पुगेर उनीहरुले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै आएका छन् । निर्वाचन आयोगले आगामी फागुन ४ गतेपछि मात्र आमसभा लगायतका निर्वाचन कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि सबै दलले घरदैलो र मतदाता भेट मात्रै गर्दै आएका छन् ।

प्रतिक्रिया