उम्मेदवारलाई साझा प्रश्न : बागलुङको विकासका निम्ती तपाईहरुका योजना के छन ?

  • फाल्गुण ५, २०८२

बागलुङ- मंगलबार बागलुङ जेसीजले बागलुङ क्षेत्र नं. १ का सवै उम्मेदवारलाई लक्षित गरी प्रत्यक्ष संवाद कार्यक्रम राखेको थियो । कार्यक्रममा यस क्षेत्रका आठ उमेदवार सहभागी भए । सुरुमा उपस्थित जनतालाई उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता र कामको बारेमा सुनाए । त्यसका साथै यस क्षेत्र र सम्रग जिल्लाको बिकासको मार्गचित्र बताए । उनीहरुले बिकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिवद्दता जनाए । उनिहरुले आफ्नो दलको मुख्य एजेण्डा सहित आफुले निति निर्माण परिवर्तनका निम्ती खेल्ने भुमिकाका बारेमा सुनाए । त्यो मात्र है सवै दलका उम्मेदवारले जेनजी आन्दोलन पछिको परिवर्तनका कारण नै निर्वाचन हुन लागेको र यो परिवर्तनलाई स्विकारेर अगाडी बढेको बताए । 
संवाद कार्यक्रममा दलहरुले आफ्ना प्रतिवद्धता राखेपछि सहभागीका प्रश्नहरुका लागि छुट्टाछुट्टै बाल्टी रहेका थिए । उम्मेदवारका लागि विशेष र साझा प्रश्न रहेका थिए । साझा प्रश्नमा बागलुङको विकासका तपाईको योजना के छ, ? कालिगण्डकी दोहोन रोक्नका लागि तपाईको प्रयास के हुन्छ ? बढ्दो बसाईसराई कसरी रोक्ने, महिला र दलितलाई हेर्ने दृष्टीकोण कहिले बदलिन्छ जस्ता प्रश्न रहेका थिए । त्यसमा सवै दलका उम्मेदवारको एउटै आवाज यस क्षेत्रको विकासका निम्ती आफुहरु सधै जनताकै माझमा रहने प्रतिवद्धता जनाएका थिए । त्यसका साथै कालिगण्डकी दोहन, बसाईसराई रोक्नका निम्ती उचित किसिमको निति ल्याउने जनाएका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका उमेदवार भीमबहादुर श्रीषले प्रोजेक्ट गर्भनेन्स मार्फत सुशासन, आइटी दशक मार्फत रोजगारी सिर्जना र पर्यटन सर्किट बनाउने बताए । उनले किसानको समस्या समाधानकालागि बाँदर नियन्त्रण योजना र दलीतले उत्पादन गरेको दूध लगायतको बस्तुको बजारीकरणमा समेत काम गर्ने बताए । त्रिभूवन विश्व विद्यालयको पूर्व स्ववियु सभापति रहेका श्रीषले नीति निर्माण र बिकासका योजनामा समान रुपमा अगुवाई गर्ने प्रतिवद्दता जनाए । उनले शिक्षा स्वास्थ्य जता आधारभुत आवश्यकतालाई जनताले सहज रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्न आफुले भुमिका खेल्ने बताए । 
नेकपा (एमाले) उम्मेदवार नेता हिराबहादुर केसीले सुशासन र स्थानीय बिकास मार्फत समृद्दिको बाटोमा हिडाउने बताए । उनले राष्ट्रियताको पक्षमा अडिग रहने, जनताको सुखदुःखमा साथ दिने समेत धारणा राखे । धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति भएदेखिनै समाज र देश परिवर्तनको काममा लागेकोले निर्वाचन जित्दा र हार्दापनि निरन्तर नागरिकको काममै लागेको उनको धारणा थियो । अहिले पनि जिल्लाको बिकासको एजेण्डामा अगुवाई गरेरै जान तयार रहेको उनले बताए ।


रास्वपाका नेता सुशिल खड्काले हरित बिकास मार्फत रोजगारी सिर्जना गर्ने प्रतिवद्दता जनाए । उनले यस अघि गरेको हिमाल सफाइको अभियान र वातावरणको क्षेत्रमा पनि युवालाई रोजगारी दिने, अलपत्र बिकासलाई गति दिन अगुवाई गर्ने बताए । उनले पुराना दलले काम नगरेकोले भ्रष्टाचार बढेको साथै उनिहरुले धेरै वर्ष देखी केही गर्न नसकेको टिप्पणी गरे ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवार कृष्ण अधिकारीले सुशासनका लागि निगरानी नै पहिलो जिम्मेवारी बन्ने बताए । राप्रपाका कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाकालागि अगुवाई गर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले जनयुद्दका लक्ष्य पुरा गर्ने काममा लाग्ने बताए । उनले कृषी विग्रेड बनाउने कुरामा जोड दिए ।
प्रगतीशिल लोकतान्त्रिक पार्टीका नेता चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्द गर्ने र बिकास र सुशासनमा काम गर्ने बताए । मानवताबादी पार्टीका नेता भक्तबहादुर बिकले न्यायका लागि लड्ने बताए ।
बागलुङ जेसीजले आयोजना गरेको कार्यक्रममा स्थानीयले एउटै मंचमा बसेर सबै दलका नेतालाई प्रश्नसोध्ने मौका पनि पाएका थिए । लामो कसरतपछि जेसीजले यो कार्यक्रम गरेको अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् । कार्यक्रम धौलागिरी एफएमका सम्पादक ताराप्रसाद शर्माको संचालन र उपाध्यक्ष स्विकृति भारीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया