गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकल पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ्दै गएको हँदा खानपान र जिवनशैलीलाई परिवर्तन गर्नुपर्ने बताएका छन । धौलागिरि आयुर्वेद अस्पताल बागलुङको आयोजनामा नागरिक आरोग्य अभियान एवं आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पाठकले आधुनिक चिकित्साको जग नै आयुर्वेद चिकित्सा भएको हुँदा यसलाई हामीले अबलम्बन गर्नुपर्ने बताए । उनले विज्ञानले ओझेलमा परेको आयुर्वेदिक चिकित्सा पद्धतीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
‘हामीले १३ वटा अस्पतालको स्तरोन्नती गरेका छौं, त्यसमा दुई वटा आयुर्वेदिक अस्पतालको स्तरोन्नती ग¥यौं,’उनले भने,‘स्वास्थ्योपचारका सबैभन्दा पुरानो विधि र पद्धतिलाई व्यवस्थीत र व्यवसायिक बनाउने कुरामा ध्यान दिएका छौं ।’ स्वास्थ्यमा कुनै पनि प्रभाव नपार्नेगरी हुने उपचार विधिलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ । ‘हामीलाई धेरै अप्ठ्याराहरु छन्, यति हुँदा पनि हामीले अस्पतालको स्तरोन्नती गरेका छौं । हामीले सञ्चालन गरेको अस्पतालले कम भन्दा कम शुल्कमा नागरिकको उपचार गरेर राज्यलाई राजस्व पनि दिनुपर्छ,’ उनले भने ।
उनले अस्पतालबाट हुने आम्दानीको १५ प्रतिशत रकम अस्पतालको सुदृढिकरण कोषमा जम्मा गरिने र त्यसले अस्पतालको विकासमा काम गर्ने बताए । उनले डाक्टरहरुलाई अतिरिक्त सुविधा दिएर विकट क्षेत्रमा सेवाका लागि खटाउनेगरी प्रदेश सरकारले कानुन बनाईरहेको बताए । ‘पोखरा बस्ने र मुस्ताङ मनाङमा जाने डाक्टरलाई एउटै सुविधा दिईयो भने कोही पनि विकट क्षेत्रमा जाँदैनन्,’उनले भने,‘त्यसका लागि विकट क्षेत्रमा जाने स्वास्थ्यकर्मी र डाक्टरलाई अतिरिक्त सुविधा दिनेगरी यसै अधिवेसनमा कानुन पारित गर्नेगरी काम गरिरहेका छौं ।’
पाठकले धौलागिरि अस्पतालमा यही शैक्षिक शत्रबाट पिसिएल नर्सिङ बढाउने पनि बताए । ‘हामीले सरकारबाट निर्णय गरेर अगाडि बढेका छौं, सिटीईभिटीसंग सहमती पनि भैसकेको छ, अव सिट निर्धारण भएपछि भर्ना खुल्छ,’उनले भने । उनले गण्डकी प्रदेशमा आवश्यक पर्ने डाक्टर र स्वास्थ्यकर्मी यही उत्पादन गर्ने गरी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।
कार्यक्रममा सहभागीले स्वस्थ जीवनका लागि आहार विहार र जीवनशैलीमा ध्यानुपर्ने बताए ।
सहभागीले स्वस्थ रहनका लागि जिब्रोका लागि भन्दा पनि शरिरका लागि खाने बानीको विकास गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसीले पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताए । सन् २०१९ मा गरेको अध्ययनले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या ७१ प्रतिशत पुगेको उनले बताए । ‘सन् १९९० मा सर्ने रोगका कारण्मा मृत्यु हुनेको संख्या बढि थियो,’उनले भने,‘नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । यो भनेको हाम्रो आहार बिहार र जीवनशैलीका कारणले हो ।’ स्वस्थ र अर्गानिक खानेकुरा खाने र नियमित शारिरिक व्यायामले नसर्ने रोगबाट बचाउने बताए ।
मानिसको अल्छीपनले गर्दा मोटोपन बढ्दै गएको र यसले रोग निम्त्याउने गरेको उनले बताए । धुम्रपान, मद्यपान, प्रशोधित तेल, चिनी तथा धेरै नुन र अनावश्यक चिल्लोको सेवनले स्वास्थ्यमा समस्या आउने गरेको उनले जानकारी गराए । ‘रिफाईन गरिएको तेलमा शरिरका लागि आवश्यक चिल्लो पदार्थ हुँदैन,’उनले भने,‘त्यसको प्रयोगले केबल मोटोपन मात्रै बढाउँछ ।’ रिजनल, सिजनल र ओरिजिनल खाने कुराको सेवनले मात्रै स्वस्थ शरिर रहने उनले जानकारी गराए । खानमा २० प्रतिशत अन्न, २५ प्रतिशत प्रोटिनको मात्रा र ५० प्रतिश सागपात र सलाद प्रयोग गर्नुपर्ने उनले जानकारी गराए ।
कार्यक्रममा वार्षिक प्रगति प्रस्तुत गदैै धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा. शरद पन्थीले अस्पतालमा अहिले सेवा लिनेहरुको संख्या बढ्दै गएको बताए । ‘आयुर्वेद औषधालयबाट अस्पतालमा रुपान्तरण भएपछि सेवा लिनेको सख्या बढेको छ,’उनले भने,‘२५ शैयाको अस्पतालको रुपमा हामीले बिरामी भर्ना गरेर सेवा दिन थालेको छौं ।’ स्रोत साधनको अभावका बीचमा काम गरिरहेको उनले बताए । गत आर्थिक वर्षमा ३० हजार नागरिकले आयुर्वेद सेवा लिएकोमा यस पटक ३७ हजार बढिले सेवा लिएको बताए ।
आयुर्वेद अस्पतालबाट मात्रै गत आर्थिक वर्षमा ११ हजार ४ सय ५५ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षमा १७ हजार ५ सय ४८ जनाले सेवा लिएको उनले जानकारी गराए । गतवर्ष एक हजार ३९जनाले अन्तरङ्ग सेवा लिएकोमा चालु वर्षमा तीन हजार ३७ जनाले यो सेवा लिएको उनले जानकारी गराए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त लगायतले मन्तव्य राखेका थिए ।
नागरिक आरोग्य अभियान बागलुङका संयोजक एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन धौलागिरि आयुर्वेद अस्पतालका सूचना अधिकारी डा. कमल पौडेलले गरेका थिए ।