नेपाली युवा डा.सजग पौडेलको अनुसन्धान अमेरिकी कानुन निर्माणमा समावेश 

  • चैत २१, २०८०


बागलुङ-  अमेरिकी सरकारको विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुनमा नेपाली युवाको अनुसन्धानलाई समावेश गरेको छ । अमेरिकी सरकारले गत साता ह्वाइट हाउसबाट शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्नको लागि सन २०२७ पश्चातका विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुन पारित गरेको हो । सो कानुन ल्याउँदा सम्बन्धित विषयका विज्ञबाट वैज्ञानिक पुष्टी हुने प्रमाणित शोधका रुपमा बागलुङ नगरपालिका–३ का डा.सजग पौडेलको अनुसन्धानलाई कानुनमा समावेश गरेको हो ।
विद्युतीय गाडीहरूको चार्जिङ स्टेशनहरू सम्बन्धित सरकारद्वारा प्रकाशित हजार पृष्ठ लामो कानुनको एउटा हिस्सामा वैज्ञानिक अध्ययन मध्य डा पौडेलको अनुसन्धानलाई मान्यता दिएको छ । आफ्नो अनुसन्धानका धेरै पत्रहरु मध्य पहिलो पटक यो अनुसन्धान एक सर्वोच्च प्लेटफर्ममा समाहित भएको डा. पौडेलले बताए । संयुक्त राज्य ऊर्जा विभागको नीति सम्बन्धित कार्यलय तथा आर्गन नेशनल ल्याबबाट पौडेल सहभागी भएका थिए । छोराको सफलताले परिवार मात्र नभई सिंगो नेपाली जगतको शिर उचो गरेको पौडेलका बुबा जगदिशचन्द्र उपाध्यायले बताए । नेपालबाट प्रतिनिधित्व गरेर अमेरिकाको कानुन निर्माणमा डा पौडेलले प्रतिनीधित्व गर्न सफल भएको उपाध्यायले बताए । 
छोराको प्रयासले अमेरिकाको कानुन निर्माणको क्षेत्रमा स्थान पाउनुले सबै नेपालीको लागि गौरवको विषय भएको बताए । सानै उमेरदेखि अध्ययनमा लगनशिल पौडेलले सन् २०१० मा आदर्श विद्यामन्दिर आवासिय माविबाट एसएलसी दिएका थिए । उनले पेन्टागन इन्टरनेशनल स्कूल काठमाण्डौबाट कक्षा १२ उत्रिर्ण गरेका थिए । भारतको बैंगलोरबाट सन् २०१६ मा मेकानिकल इन्जिनियरिङ पास गरेका पौडेलले सन् २०१८ मा कानपुर भारतमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।टेक एरोस्पेस इन्जिनियरिङ् अध्ययन गरेका थिए ।
पिएचडी गर्न सन् २०१८ मा उनी विद्यार्थी भिसामा अमेरिका गएका थिए। उनले अहिले अध्ययन सकेर आर्गन नेशनल ल्याबमा रिसर्चको काम गरिरहेका डा. पौडेलकी आमा शकुन्तला शर्माले बताईन् । 
 

प्रतिक्रिया