पर्वतमा एक युवाले गरे आफ्नै बाबुकाे हत्या

  • असोज १८, २०७८

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार आईतबार राती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माइतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताए। मृतकको मोबाइलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन्।

सोमबार विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया