तिन महिना पछि खुल्यो बागलुङ–कुश्मिसेरा सडक खण्ड

  • असोज २६, २०७८

गत असार देखी बन्द रहेको जिल्लाको दक्षिण जोड्ने बागलुङ– कुश्मिसेरा सडक तिन महिना पछि संचालनमा आएको छ । बागलुङ नगरपालिका–१०  दब्लाङमा  गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नु परेको थियो । सडक खुले सँगै दशैमा घर जान सहज भएको छ । निरन्तरको दबाबपछि दुई साता अगाडी मर्मत सुरु गरिएको थियो मर्मत सुरु गरिए पनि पुन वर्षा भए सँग मर्मत गरेका सडक पहिरोले बगाए पछि सडक सुचारु गर्न ढिला भएको मालढुंगा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिए । 
सरोकारवाला निकायले पटक—पटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक सुचारु गर्न कठिनाई भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदान सहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडी बढाईएको थियो । 
उपभोक्ता समिति मार्फत सडक मर्मत गरी तत्कालका लागि एकतर्फ रुपमा भए पनि गाडी संचालनमा ल्याईएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिए ।  सरोकारवाला निकायले अनुगमन गर्दा लागत एस्टिमेट धेरै भए पनि अहिले तत्कालै जनताले पाएको दुखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद व्यवस्थापनबाट केही रकम छुट्याएर का अगाडी बढाईएको बागलुङ नगरपालिका– १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए । 
लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्क विहीन बनेपछि सहज होस भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक १६ लाख ६० हजार रुपैयाँ उक्त सडकलाई छुट्याएको उपभोक्ता समितिको सचिव ज्ञानेन्द्र ढकाललले जानकारी दिए । सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो । 
एक ठाउँमा गएको पहिरोका कारण उक्त सडक सहित कालिण्डकी करिडोर पनि विग्रिदा  अहिले कालिगण्डी किनारबाट भाटेखोला हुँदै बैकल्पिक मार्ग संचालनमा ल्याईएको थियो ।   
 

प्रतिक्रिया