बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका वडा नं.–३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे आफ्नै घर नजिकै रहेको गोठको बाहिर भागमा रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेर शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।
ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको सूचना अधिकारी यादवले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।