सप्ताहव्यापी कार्यक्रमको समिक्षा सहित सकियो ट्राफिक सप्ताह

  • जेठ १, २०८०

बागलुङ ।  सप्ताहव्यापी रुपमा संचालन भएको ट्राफिक सप्ताहको समिक्षा सहित आईबार समापन गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी रुपमा ट्राफिक जनचेतना मूलक कार्यक्रम सहित संचालन गरिएको कार्यक्रमको समिक्षा सहित समापन गरिएको हो । समिक्षा कार्यक्रमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बढ्दो सवारी दुर्घटना न्युनिकरणका निम्ती आम नागरिक सवै सचेत हुन जरुर रहेको बताए । उनले सानो गल्तीका कारण ठुला ठुला दुर्घटना हुने हुँदा पहिलै सचेत भएर सवारी साधन चलाउनुपर्ने बताए । श्रेष्ठले बागलुङ बजार क्षेत्रमा बढ्दो ट्राफिक समस्यालाई व्यवस्थापनका निम्ती नगरपालिकाले उचित कदम चाल्ने बताए । ‘बजारको ट्राफिक व्यवस्थापनका निम्ती सवै सचेत बनौ सवैले हातेमालो गरे मात्र यो काम सम्भव छ श्रेष्ठले भने,–‘नगरपालिकाले कुनै खाली ठाउँमा पार्किङको व्यवस्थापन गरी बजारमा सवारी चाप घटाउन खोजेको छ तर भने जस्तो जग्गा नै पाउन सकिएको छैन । उनले बजार क्षेत्र भित्र भएको जग्गा  भाडामा लिन खोज्न पनि नपाउँदा समस्या भएको जानकारी गराए । श्रेष्ठले जिल्ला ट्राफिक कार्यालय संचालनका निम्ती नगरपालिकाले उचित स्थानको व्यवस्थापनमा जोड दिएको बताए । 
    कार्यक्रममा यातायात व्यवस्थापन कार्यालय बागलुङका प्रमुख पारसिंह थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, उपभोक्ता मंञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्का, धौलागिरी गण्डकी यातायात प्रालीका अध्यक्ष उमेश केसी लगायतले सवारी चालकलाई समयम समयमा ट्राफिक सम्बन्धी सचेतना आवश्यक रहेको बताए । 
    सप्ताहव्यापी कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बजार क्षेत्रमा पैदल यात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कुराले थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह संचालन गरिएको गरिएको ट्राफिक कार्यालय बागलुङका प्रहरी बरिष्ठ नायव निरिक्षक मिनबहादुर खड्काले बताए । प्रमुख खड्काले सप्ताहमा चोक चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामिण सडक लक्षित प्रशिक्षण, सवारी चालक र परिचालकलाई सडकमै प्रशिक्षण लगायतका कार्यक्रम गरिएको बताए । सप्ताहव्यापी कार्यक्रममा क्षमता अनुगमन, सडक प्रयोगकर्ता प्रशिक्षण, यात्रु सचेतना, शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण, विद्यार्थीहरुलाई ट्राफिक सचेतना, सेना, सशस्त्र र प्रहरीलाई प्रशिक्षण, ग्रामिण स्थलमा सचेतना, सवारी चालकको स्वास्थ्य जाँच, स्टिकर टाँस, मास्क वितरण, सवारीको छत हुट अनुगमन, सिट क्षमता, बढी भाडा र आरक्षण सिट अनुगमन, लघु सचेतना कार्यक्रम र यात्रु सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो । 
बागलुङमा चालु आर्थिक बर्षसुरु भएपछि ११ दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ जनाले ज्यान गुमाएको तथ्यांक छ । कयौं नागरीक दुर्घटनापरी घाईते, अंगभंग भएका छन् । यो परिदृष्य सुधारको प्रयास थालिएको छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षता र प्रहरी निरिक्षक राजाराम खड्काको संचालनमा सम्पन्न भएको थियो । सप्ताहकै अवसरमा साँझ लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरिएको थियो । 
 

प्रतिक्रिया