काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले मुलुकभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढी–पहिरोको वितण्डातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद काउचाले विपत्ति आइसकेपछि मात्र तात्ने सरकारी कार्यशैलीको आलोचना गर्दै नागरिकको जीवन रक्षाका लागि तत्काल कदम चाल्न माग गरेकी छिन् ।
आफ्नो गृह जिल्ला बागलुङसहित रोल्पा र जाजरकोटमा बाढी–पहिरोका कारण नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको भन्दै उनले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिन् । विशेषगरी बागलुङको निसीखोला र बडिगाड गाउँपालिकामा पहिरोले पुर्याएको क्षतिबारे उनले सदनलाई विस्तृत जानकारी गराइन् ।
‘यही साउन २९ गते निसीखोला–२ धाराटोलमा बिहान करिब ४ बजे गएको पहिरोले ९ घरमा आंशिक क्षति पुर्याएको छ भने ४० घर उच्च जोखिममा छन्,’ उनले भनिन्, ‘तारा घर्ती र दीपक परियारको घर बस्नै नमिल्ने भएर उहाँहरू त्रिपालको ओतमा बस्न बाध्य हुनुहुन्छ । यस्तै अवस्था बडिगाड–५ जोगीबगरमा पनि छ, जहाँ लोकबहादुर थापाको घरमा क्षति पुगेको छ ।’
सदनलाई सम्बोधन गर्ने क्रममा सांसद काउचाले अमेरिकी दार्शनिक राल्फ वाल्डो इमर्सनको चर्चित भनाइ उद्धृत गर्दै सरकारको फितलो पूर्व तयारीमाथि टिप्पणी गरिन् । उनले भनिन्, ‘इमर्सनले भनेका थिए— हामी भूकम्प गएको भोलिपल्ट बिहान मात्र भूगर्भशास्त्र सिक्न खोज्छौँ। हाम्रो नियति पनि यस्तै छ । हरेक वर्ष मनसुनमा उस्तै पीडा भोग्छौँ, तर विपत्ति आउनुअघि हामी किन सचेत बन्दैनौँ ’
वर्षौँको दुःखले बनाएका घरहरू चर्किएर बग्ने अवस्थामा पुग्दा जनताको मनोदशा अत्यन्तै पीडादायी बनेको भन्दै उनले सरकार मूकदर्शक बन्न नहुने बताइन् ।