बागलुङ - धार्मिक पर्यटन प्रवद्र्धनका निम्ती कालिगण्डकी किनारमा १०८ तलसी मठ निर्माण गरिएको छ । बागलुङ नगरपालिका–१ र ४ को संगमस्थल निरहेघाट (निर्णयघाट) मा रहेको मानवसेवा आश्रम परिसर आगडी १०८ वटा तुलसीका मठ निर्माण गरिएको हो । हरिशयनी एकादशीको अवसर पारेर तुलसीका बिरुवा रोपिएको छ । मानवसेवा आश्रम बागलुङको संयोजनमा सम्पन्न यस अभियानले धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वलाई एकैसाथ उजागर गरेको छ ।
मानवसेवा आश्रमले तयार पारेको गुरुयोजना अनुसार आश्रम परिसरको अगाडि १०८ तुलसीका मठ निर्माण गरी विधिपूर्वक तुलसी रोपिएको हो । सनातन हिन्दू परम्परामा तुलसीलाई भगवान विष्णुको प्रिय स्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर–आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने विश्वास रहेको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए ।
आश्रम निर्माण समितिका सदस्य एवं अभिभावक निर्मलकुमार श्रेष्ठका अनुसार प्रत्येक तुलसी मठ निर्माणमा करिब १० हजार रुपैयाँ लागत लागेको छ । मठ निर्माणका लागि विभिन्न धर्मप्रेमी, समाजसेवी तथा सहयोगी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिए ।‘मठ निर्माणका निम्ती बागलुङ नगरपालिका र वडा नं. ४ बाट ५ लाख बजेट विनियोजन भएको थियो, श्रेष्ठले भने–‘तर बागलुङ लगायत विभिन्न ठाउँमका भक्तजनले व्यक्तिगत रुपमा नै निर्माण गरिदिनु भयो । नगरपालिकाको बजेटलाई हामी शिवलिंग निर्माणका लागि लाग्नेछौँ । आश्रमस्थलमा नै शिवलिंग निर्माण गर्नुका साथै बुढानिलकण्ठको मुर्तिपनि निर्माणाधिन अवस्थामा रहेको उनले बताए । आगामी दिनमा आश्रम परिसरमा १०८ वटा पीपल, बर, स्वामी तथा बेलपत्रका बिरुवा समेत रोप्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
निरहेघाट क्षेत्र विगतदेखि नै धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ । करिब तीन दशकअघि हरिशयनी एकादशी र हरिबोधनी एकादशीका अवसरमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दथ्यो । समयक्रमसँगै मेलाको परम्परा कमजोर बन्दै गए पनि पछिल्ला वर्षहरूमा मानवसेवा आश्रमको भवन निर्माण तथा धार्मिक संरचनाहरू थपिँदै गएपछि यस क्षेत्रप्रति श्रद्धालु र भक्तजनहरूको आकर्षण पुनः बढ्न थालेको छ ।
निरहेघाटमा अवस्थित लक्ष्मीनारायण मन्दिर, रामानुज आश्रमलगायतका धार्मिक सम्पदाले यस क्षेत्रको महत्व अझ बढाएको छ । तुलसीका १०८ मठ निर्माणसँगै धार्मिक पर्यटनको सम्भावना विस्तार हुने विश्वास गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । कालिगण्डकीको पवित्र तटमा आध्यात्मिक वातावरण सिर्जना गर्दै धर्म, संस्कृति, प्रकृति संरक्षण र मानव सेवालाई जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निरहेघाटलाई आगामी दिनमा प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।
तुलसी रोपणलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेरिन्छ । शास्त्रअनुसार हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजा–आराधना र संरक्षण गर्नु पुण्यदायी मानिन्छ । तुलसीले धार्मिक आस्थासँगै वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधता संरक्षण गर्न र पवित्र वातावरण निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ । मानवसेवा आश्रम निर्माणका निम्ती गत भदौमा महायज्ञ आयोजना गरिएको थियो ।