बागलुङ - सामान्य वर्षा भयो त बाटो बन्द हुन्छ । कोही विरामी भयो भने अस्पताल सम्म लैजाने पनि बाटो हुँदैन । हिउँदभरी त गाडी चल्यो अब बर्खा लाग्यो बाटो बन्द हुन्छ यसका बारेमा कसैले केही सोच्नुभएको छ ? दब्लाङको पहिरोका कारण बन्द हुने सडकका बारेमा कसैलाई चासो छ ? यसको निकास के हुन्छ ? अधिकाशं नागरिकका यही पहिरो र सडकका बारेमै प्रश्न थिए ।
बागलुङ नगरपालिकाले सोमबार बलेवा क्षेत्रलाई लक्षित गरी वडा नं. १३ को पैयुँपाटामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वलेवाबासी नागरिकको प्रमुख गुनासो भनेकै वर्खा लागे सँगै दब्लाङको पहिरोले दिने सास्तीका बारेमा थियो । नगरपालिकाको वडा नं. १० भकुण्डे दब्लाङमा विगत ४ वर्ष देखी पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । वर्षा लागे सँगै नियमित बग्ने पहिरोका कारण दक्षिण बागलुङ यातायात रोकिँदा यस क्षेत्रले पाउनुपरेको दुःखको बारेमा यहाँका जनताले दुखेसो पोखेका थिए ।
सहभागि अधिकांसले सडक यातायात सँगै खानेपानी, स्वास्थ्य र शिक्षाका विषयमा पनि धेरै चासो राखेका थिए । सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि र कर्मचारीसँग सेवाग्राहीले गुनासै गुनासो पोखेका थिए । ‘योजनाहरुको विल भरपाईको विषयमा सवै भन्दा बढि दुःख पाएका छौं । उपभोक्तालाई अनुशिक्षण छैन । जिल्ला दररेट अनुसार उपभोक्ताले काम गर्न सक्नै अवस्था छैन स्थानिय उपभोक्ता बालकृष्ण शर्माले भने,–‘अब गाउँमा उपभोक्ता समितिमा बसेका काम गर्न कोही मान्नेवाला छैन । कि त नगरपालिकाले सेवा प्रवाह गर्दा छिटो र छरितो गर्नुप¥यो नत्र एउटै योजनाको काम लिएर दिनदिनै नगरपालिका धाउन कोही सक्दैनन् । उनले उपभोक्ताको गुनासो सुन्ने र नपुगेको कागजपत्र हेर्ने भनेर स्थापना गर्ने भनिएको ‘फण्ट डेक्स ’कहिले देखी संचालन हुने हो ? जनप्रतिनि र कर्मचारीलाई प्रश्न गरे । नागरिकले ५० हजारको योजना फरफारक गर्दौ धेरै पटक धाउनुपर्ने बाध्यताका कारण हजारौं रकम खर्च हुने समेत शर्माको गुनासो थियो ।
सार्वजनिक सुनुवाईमा राजश्व संकलन कम्प्युटर विलिङ बाट भयो भने राजश्व चुवावट कम हुने बलेवा क्षेत्रका ठुला वडालाई टुक्राउनुपर्छ केही वडा थप्नुपर्ने समेत सुझाव प्रदान गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिलाई आगामी पाँच वर्षका कार्ययोजना के के छन त्यसको बारेमा आम नागरिकको चासो रहेको भन्दै प्रश्न गरेका थिए । बलेवा क्षेत्रमा खानेपानीको समस्या रहेको र यसको समाधान कहिले हुने भन्दै वडा अध्यक्ष र नगरउपप्रमुख समक्ष स्थानिय शालिकराम शर्माले प्रश्न राखेका थिए ।
कार्यक्रमका सहभागीले नगरपालिकाका हरेक नागरिकलाई आत्मनिर्भर मुखी बनाउनका लागि कस्ता कस्ता योजना बनाएको छ त्यसको बारेमा प्रश्न गरेका थिए ।
कार्यक्रममा नगरपालिकाले संचालन गरेका पूर्वाधारहरु गुणस्तरहिन भएको केहीले टिप्पणी समेत गरेका थिए भने केहीले ग्रामिण क्षेत्रमा भएको जिर्ण सडकको बारेमा प्रश्न गरेका थिए । बलेवा क्षेत्रको पहिलो समस्या भनेकै सडक र खानेपानी हो सहभागी चन्द्रप्रसाद शर्माले भने–‘यसको समस्या समाधानका लागि नगरपालिका जिम्मेवार बन्नुपर्दछ । सदरमुकाम देखि वडा तहमा जोड्ने सडकहरु जीर्ण बन्दै गएकोले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको उनको गुनासो थियो ।
बलेवा विमानस्थल संचालन कहिले हुने ? ग्रामिण भेगमा यातायाताका साधानले उठाउने गरेको मनपरी भाडा दरको विषयमा समेत प्रश्न उठाएका थिए । कार्यक्रममा नागरिकले बलेवा क्षेत्रमा भएका सम्भावना र यहाँ गर्न सकिने विकासका कारेमा पनि सल्लाह सुझाव दिएका थिए ।
सहभागिको प्रश्नमा नगर उपप्रमुख राजु खड्काले जवाफ दिँदै दब्लाङको पहिरोको निकासको बारेमा नगरपालिकाले बारम्बार विभिन्न निकायमा छलफल गरेको र बैकल्पीक निकासका बारेमा खोजी गरेको बताए । उनले नगरप्रमुख र नगरपालिकाको सिंगो टिम यस क्षेत्रका नागरिकले पाएको सास्ती प्रति चासो देखाएको र तत्काल कुनै निकासको खोजीमा रहेको बताए । उनले बलेवा क्षेत्रमा खानेपानी नपुगेका टोलमा तत्काल कसरी हुन्छ खानेपानीको व्यवस्थापन गर्नका लागि नगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगरपालिकाबाट हुने हरेक सेवा प्रवाहलाई जवाफदेही ढंगले संचालन गर्ने बताए । उनले जनतालाई सवै सेवा सहज ढंगले प्रदान गर्ने उद्देश्यले सार्वजनिक सेवा प्रवाहमा मितव्ययीता अपनाएको बताए । उनले झण्डै ९० प्रतिशत योजना सम्झौता भै काम भएको हुँदा समयमा काम सम्पन्न गरेर फरफारक गर्नका निम्ती आम उपभोक्तालाई आग्रह गरेका थिए । उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजु लगायतका अप्ठ्या समयमा फुकाउन सकिने हुँदा अब सवै योजना समयमा नै सम्पन्न हुने बताएका थिए । सापकोटाले कुनै पनि सेवा लिँदा कर्मचारीबाट दुःख दिने काम भएमा तत्काल नगरप्रमुख उपप्रमुख वा प्रमुख प्रशासकिय अधिकृतलाई खबर गर्न सेवाग्राहीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका –१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले वडाबाट हुने कार्यसम्पादनमा कुनै कमिकमजोरी आउन नदिने बताएका थिए । नारायणस्थान क्षेत्रका विषयमा वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले जवाफ दिएका थिए ।
कार्यक्रममा नगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले शिक्षा क्षेत्र, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले स्वास्थ्यका बारेमा नागरिकका प्रश्न जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री माओबादी केन्द्रका रेशमबहादुर खत्री स्थानिय डा रामबहादुर केसी मुक्तिराम शर्मा शालिकराम शर्मा विजेन्द्र कुँवर र अमलाचौर, नारायणस्थानका नागरिकले नगरका क्रियाकलाप बारे प्रश्न उठाएका थिए । नगर उपप्रमुख प्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको स्वागत, अधिकृत आठौं युक्तप्रसाद सुवेदीको संचालन गरेका थिए । कार्यक्रममो सहजीकरण पत्रकार राम थापाले गरेका थिए भने कार्यक्रम माथि टिप्पणी पत्रकार विजय रानाले गरेका थिए ।