कालीगण्डकी नदी किनारबाट आफ्नो सात वर्षीय छोरासहित एक महिला बेपत्ता

  • साउन २२, २०८२

पर्वत- जिल्लाको बिहादी गाउँपालिकास्थित सेतीवेणी बजारछेउ स्याङ्जा जिल्लामा पर्ने कालीगण्डकी नदी किनारबाट आफ्नो सात वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् ।

बिहादी गाउँपालिका–५ छच्चने पर्वत घर भई स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा घर भएकी २६ बर्षिया श्यामकला पाण्डे बुधवार दिउँसोदेखि बेपत्ता भएकी हुन् । माइत जान भन्दै घरबाट निस्किएकी उनले सेतीवेणी बजारमा पुगेर छोराका लागि खेलौना किनेकी थिइन् । त्यसको केही समयपछि कालीगण्डकी नदी किनारमा महिलाले भिर्ने झोला, मोबाइल फोन, महिलाले लगाउने एक जोडी चप्पल र बालकको एक जोडी चप्पल फेला परेको थियो ।

श्यामकला र उनका छोराले कालीगण्डकी नदीमा नुहाउने क्रममा खोलाको बाढी वा हल्काले बगाएको हुन सक्ने वा आत्महत्याका लागि छोरासहित नदीमा हेलिएको हुन सक्ने भन्दै स्थानीयले तत्कालै खोजीको काम थालेको भए पनि उनको अवस्था भने अज्ञात नै रहेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले घटना भएको भनिएको स्थानमा फेला परेका सामग्रीहरूको बारेमा जानकारी गराउँदै परिवारका तर्फबाट खोजीका लागि निवेदन आएको बताए । तर उनले कालीगण्डकीमा हाम फालेको वा नदीको हल्कामा परेर बेपत्ता भएको बारेमा पुष्टि हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले महिला बेपत्ता भएको भन्ने खबरहरू आएलगत्तै खोजी चलेको भए पनि कालीगण्डकीमा बगेको भन्ने विषयमा कुनै थप प्रमाणहरू फेला नपरेको बताए । नदीको नजिकै रहेको प्रतीक्षालयमा झोला, चप्पल, मोबाइल फोन भेटिएको विषयमा भने तत्कालै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि सेतीबेणीमा रहेको प्रहरी टोली कालीगण्डकी नदी किनारमा पुगेर खोजी थालेको थियो ।

चप्पल र झोला प्रतीक्षालयमा भेटिएको भए पनि बच्चाका लागि किनेको खेलौना भने कालीगण्डकी नदीको किनार नजिकै घाँस भएको स्थानमा भेटिएको छ । खेलौना गाडी भेटिएको स्थल नजिकै नदीको तिरबाटै उठाइएको सिँढी रहेको छ । उनले उक्त सिँढीबाट नदीमा हाम फालेको हुन सक्ने केही स्थानीयले दाबी गरेका छन् ।

बुधबार नै सोही स्थानमा मलामी गएका व्यक्तिले समेत नदी किनारमा महिला र बालकलाई देखेपछि खोलाको तीरमा नजान सुझाएको बताएका छन् । शव देखेर बच्चा डराउन सक्ने भएकोले नदीको किनारमा नबस्न भनेको भएपनि केही समयपछि आमा र छोरा दुवै जना उक्त स्थानमा नदेखिएको मलामी गएकाले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय