अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । असी मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । रातोपाटीबाट