 
                                                                                
                                    पर्वत-नेपाल प्रेस युनियन पर्वत शाखाले युनियनको आसन्न महाधिवेशनमा बागलुङ शाखाका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दिलीप पौडेललाई महासचिवको उम्मेदवारको रुपमा समर्थन  र प्रस्ताव गर्ने निर्णय गरेको छ । पर्वत शाखा अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौडामा हुने महाअधिवेशनमा बागलुङ शाखाको तर्फबाट महासचिव पदमा पौडेललाई उम्मेदवार बनाउन गरेको निर्णयलाई समर्थन गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्ने निर्णय गरेको हो । केन्द्रीय महासचिवको उम्मेदवारको रुपमा पौडेललाई सहयोग समर्थन र प्रस्ताव गर्ने निर्णय भएको अध्यक्ष अधिकारी जानकारी दिए । 
करिव डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल युनियनको जिल्ला सदस्य, जिल्ला उपसभापति, जिल्ला सभापति हुँदै युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल मोफसलबाट अहिले राजधानीमा रहेर नागरिक दैनिकमा कार्यरत छन् ।
श्रमजिवी पत्रकारको मुद्दा, पेशागत अधिकार, पत्रकारको संस्थागत क्षमता विकासमा क्रियाशिल पौडेल कुशल पत्रकारको छबी बनाएका छन् । पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गरेका पौडेले खोलमूलक समाचार, अर्थतन्त्र, भ्रष्टाचारको विरुद्ध कलम चलाउँदै आएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार, नेपाल आर्थिक पत्रकार समाजद्वारा प्रदान गरिने सेजन अवार्ड लगायतका दर्जनौं संस्थाबाट पुरस्कृत पौडेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन् ।