मालिका भगवती मन्दिरको पुनर्निर्माण

  • भदौ ११, २०८२

बागलुङ- बागलुङ नगरपालिका वडा नंं ५, ६ र ७ को सिमानमा रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माण गरिएको छ । हरितालिका तिजको अबसर पारेर पुनर्निर्माण भएको मालिका मन्दिरको मंगलबार उद्घाटन गरिएको छ ।

बागलुङ नगरापलिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भब्य कार्यक्रमका बीच मन्दिरको उद्घाटन गरे । उनले मालिका मन्दिरलाई पुरातात्विक महत्वको बनाउन पहल गर्ने पनि बताए । उनले बागलुङलाई धार्मिक गन्तव्य बनाएर पर्यटक तान्ने अभियानमा मालिका मन्दिर अति आवश्यक र उत्तम स्थल भएको पनि बताए ।

बागलुङ कालिका, पञ्चकोट, मालिका र बलेवा भैरवलगायतका स्थानलाई भक्तजनको आस्थाको केन्द्र र पर्यटकको गन्तव्य बनाउन सक्दा व्यवसायिक भविष्य पनि राम्रो बन्ने उनको भनाइ थियो । मालिकालाई सिमेन्टको नबनाइ ढुंगैढुंगाको बनाइएको छ । ढुंगा खोपेर बनाएकोले यो मन्दिर हजार वर्ष टिकाउन सकिने स्थानीयको धारणा छ । त्यसका लागि नगरप्रमुख श्रेष्ठले आवश्यक सुझाव दिंदा यो संभव भएको मन्दिर व्यवस्थापन समितिका महासचिव खेमराज सापकोटाले बताए ।

किंवदन्ती अनुसार बागलुङ कालिका र मालिकालाई दिदीबहिनी मानिन्छ । सडक यातायात सहज बनाउन सकेको खण्डमा मालिकामा पनि भक्तजन र धार्मिक पर्यटक पुग्ने स्थानीयको आश छ । कार्यक्रममा उच्च अदालत पाटनका न्याायधीश तेजेन्द्रप्रसाद सापकोटाले धार्मिक गन्तव्यमात्र नभइ मालिका सभ्यताको स्थल पनि भएकोले मन्दिर पुनर्निर्माणसँगै स्थानीयले मानव सभ्यताको खोजी र संरक्षण गर्नुपर्ने बताए । उनले आँटेको पुग्ने भएकोले मालिका पूजा गर्न धेरै टाढाबाट पनि आउने गरेको बताए ।

वडा नं। ५ का अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र स्थानीय हरिप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कावा अध्यक्ष मेघराज पाण्डेयले पुरातात्विक महत्वबारे प्रकाश पारेका थिए ।

हरेक वर्ष तीजको अवसरमा मालिकामा मेला लाग्दै गरेकोमा यो पटक नयाँ मन्दिर उद्घाटन समेत राखिएपछि सयौं स्थानीय सहभागि थिए । आयोजकले पुरुष तथा महिला छेलो,भलिबल प्रतियोगिता कार्यक्रम राखेको छ । त्यस्तै धार्मिक प्रवचन लगायतको कार्यक्रम पनि राखिएको छ । मेला अझै दुई दिन चल्ने आयोजकले बताएका छन् ।

प्रतिक्रिया