बागलुङ- आउँदो बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचन तोकेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न क्षेत्र तथा पेसाका युवाको चासो बढेको छ । यसै सन्दर्भमा बागलुङको बागलुङ नगरपालिका प्रमुखका लागि ‘कम्युनिटी नर्स’ नीतु खड्काले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी गरेकी छन् । ३० वर्षीया नीतुले आफ्नो फेसबुकमार्फत ‘परिवर्तन सम्भव छ’ भन्दै नगरप्रमुखमा उमेदवारी दिने घोषणा गरेकी हुन् ।
“देशलाई परिवर्तनको खाँचो छ र त्यो परिवर्तन हामी युवाबाटै हुनुपर्छ भन्ने सोचेर उमेदवारी दिने निर्णय गरेकी हुँ । यसमा मेरा घर–परिवारसँगै शुभेच्छुकहरूको साथ र हौसला पर्याप्त छ,” खड्काले बाह्रखरीसँग भनिन्, “देशका हरेक क्षेत्रमा व्याप्त असमानता हटाउन युवा तथा महिला नेतृत्वको आवश्यक देखिएकाले त्यसका लागि योग्य जनप्रतिनिधि हुनसक्छु भन्ने विश्वास छ ।” उमेदवारी घोषणा गरेकी नीतु बागलुङ नगरमा घरदैलो कार्यक्रम गर्ने तयारीमा छिन् ।
को हुन् नीतु खड्का ?
बागलुङ नगरपालिका १ रामरेखाकी स्थानीय नीतु खड्का पेसाले नर्स हुन् । यसअघि, नेकपा एकीकृत समाजवादीको जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघको सचिव समेत रहेकी नीतुले हाल राजनीतिक आबद्धता त्यागेर स्वतन्त्र उमेदवारी दिने तयारी गरेकी छन् ।
कम्युनिटी हेल्थमा स्नातक गरेकी नीतुले बागलुङकै ताराखोला गाउँपालिका अस्पतालमा एक वर्ष काम गरिन् । उनले आफ्नो नगरमा ‘हरेक घर फस्टएड बक्स’ अभियान चलाइकी थिइन् ।
प्राथमिक उपचार घरमै होस् भन्ने उद्देश्यले चलाएको अभियानले नीतुलाई समाजसेवी कम्युनिटी नर्सको रूपमा स्थापित गराएको छ ।
कोभिड–१९ महामारीमा उनले नगरका स्थानीयलाई फोनमार्फत तथा घरघरमै पुगेर निःशुल्क परामर्श र उपचार सेवा दिइन् ।
नर्सिङ सेवामा श्रमानुसारको पारिश्रमिक नभएको भन्दै नीतुको नेतृत्वमा सन् २०१७ मा बागलुङमा नर्स आन्दोलन पनि भएको थियो । त्यसयता उनी आत्मनिर्भर हुनुपर्छ भन्ने अठोटका साथ विभिन्न संघ–संस्थामा आबद्ध भएर काम गर्दै आएकी छन् । बाह्रखरीबाट