काठमाडौँ - २१ फागुनमा भएको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्तिम चरणमा छ । सँग–सँगै समानुपातिकतर्फ पनि मतगणना जारी छ । निर्वाचन आयोगको कार्यप्रगति विश्लेषण गर्दा अबको एक–दुई दिनभित्रै मतगणनासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न हुनेछ ।
यस्तोमा प्रश्न आउँछ, अब नयाँ सरकार कहिले बन्छ ? गठन प्रक्रिया के हुन्छ ? नियम कानूनले के भन्छ ? प्रत्यक्षतर्फको नतिजा र समानुपातिकको मतगणना गरी प्राप्त मत संख्या निर्वाचन आयोगमा पुग्छ । त्यसपश्चात् आयोगले समानुपातिक मतको बाँडफाँड गर्छ ।
कुन दलले समानुपातिकतर्फ कति सीट पाउँछन्‚ कति दल राष्ट्रिय दल बन्छन् भन्ने आयोगले स्पष्ट पार्छ । आयोगले मतभारको आधारमा सीट संख्या विभाजन गरेपश्चात् दलहरूले क्लस्टरअनुसार निर्वाचित सांसदको सूची बुझाउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
‘आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पठाउनुपर्नेछ‚’ उक्त दफामा लेखिएको छ ।
आयोगका सहयाक प्रवक्ता कुलबहादुर जी.सी. आफूहरूको प्रयास फागुन मसान्तसम्म प्रतिवेदन बुझाउने रहेको बताउँछन् । ‘यो मासान्तसम्म प्रक्रिया सकिएला । पहिलो हप्तासम्म प्रतिवेदन राष्ट्रपति समक्ष पुग्छ‚’ उनले लोकान्तरसँग भने ।
यसरी कानूनको बाध्यात्मक व्यवस्था र निर्वाचन आयोगको तयारी हेर्दा ढिलोमा चैतको पहिलो साताभित्र राष्ट्रपति कार्यालयमा प्रतिवेदन पुग्नेछ । त्यसपश्चात् राष्ट्रपति कार्यालयले निर्वाचनको नतिजाबारे औपचारिक जानकारी प्राप्त गर्नेछ, किनभने कानूनी व्यवस्थाअनुसार आयोगले निर्वाचनसम्बन्धी परिणामको प्रतिवेदन बुझाएपश्चात् मात्र राष्ट्रपतिलाई औपचारिक जानकारी भएको मानिन्छ ।
संविधानविद् डा. रुद्र शर्मा पनि राष्ट्रपतिले सरकार गठनका लागि औपचारिक तयारी शुरू गर्नुपूर्व कानूनअनुसार निर्वाचन आयोगले प्रक्रियालाई पूर्णता दिनुपर्ने मत राख्छन् ।
‘अन्तिम नतिजा आएको सात दिनभित्र राष्ट्रपति कार्यालयमा निर्वाचन आयोगले प्रतिवेदन पेश गरेपश्चात् मात्र सरकार गठनका बाँकी प्रक्रिया अघि बढ्ने कानूनी व्यवस्था छ‚’ उनले लोकान्तरसँग भने ।
आयोगबाट प्राप्त प्रतिवेदन अध्ययन गरेपश्चात् राष्ट्रपति कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने छन् । शीतलनिवासमा यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल छन् । उनले नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने हो ।
धारा ७६ को उपधारा १ अनुसार बन्नेछ नयाँ सरकार
संविधानविद् शर्माका अनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गरेपश्चात् संविधानको धारा आकर्षित हुनेछ । संविधानको बहुचर्चित धारा ७६ अनुसार चरणबद्ध प्रक्रियाहरू शुरू हुने उनी बताउँछन् ।
धारा ७६ अनुसार जाँदा उपधारा १ अनुसार बहुमतको सरकार बन्ने प्रावधान छ ।
राष्ट्रपतिले धारा ७६(१) बमोजिम बहुमत प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संविधानको प्रावधान छ । ७६ (१) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।’
यहाँ बिर्सन नहुने विषय भनेको राष्ट्रपतिले सरकार गठन आह्वान गर्नुअगावै दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । धारा १ अनुसार बन्ने प्रधानमन्त्रीले ७६ (४ ) अनुसार संसदमा विश्वासको मत लिनुपर्ने आवश्यकता रहँदैन ।
यदि कुनै दलले स्पष्ट बहुमत नपाएमा मात्र अन्य उपधाराहरू प्रयोगमा आउँछन् ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले संविधानको धारा ९३(१) अनुसार, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
नेपालको संविधानको धारा ९३ मा संसद्को अधिवेशन आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा १ मा निर्वाचनपश्चात् संसद् अधिवेशन आह्वान सम्बन्धमा लेखिएको छ । ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ‚’ उपधारा १ मा लेखिएको छ‚ ‘त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।’
निर्वाचनको नतिजा हेर्दा संविधानको धारा ७६ (१) अनुसार सरकार बन्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्न आवश्यक १३८ सिट कटाउने प्रस्ट भइसकेको छ । रास्वपाले प्रत्यक्षतर्फ १२४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिएको छ । समानुपातिकतर्फ प्राप्त गर्ने मत हेर्दा दुईतिहाइको सम्भावना छ । त्यसैले पहिलो दल रास्वपाको नेतृत्वमा सरकार बन्ने र अन्य आश्चर्यजनक घटना नभए पूर्व घोषणाअनुसार बालेन्द्र शाह बालेन ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने निश्चित छ । त्यसका लागि चैतको दोस्रो सातासम्म कुर्नुपर्ने हुनसक्छ ।