बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बागलुङका १३ वडा विद्यालयको नतिजा भने निल रहेको छ । विभिन्न पालिकाका शिक्षा शाखाका अनुसार केही विद्यालयमा न्युन प्रतिशत विद्यार्थीको संख्या उत्तिर्ण भएता पनि १३ वटा विद्यालयको नतिजा भने शुन्य अथवा निल अवस्थामा रहेको बताईएको छ ।
नतिजा निल रहने सवै भन्दा बढि विद्यालय जिल्लाको जैमिनी नगरपालिकामा रहेका छन । जैमिनीमा ५ विद्यालयको नतिजा निल भएको छ । त्यसैगरी गलकोट नगरपालिकामा ३ विद्यालय, बडिगाड गाउँपालिकामा २ विद्यालय, ताराखोला गाउँपालिकामा १, बरेङ गाउँपालिकामा १, र ढोरपाटन नगरपालिकामा १ गरी १३ वटा विद्यालयमा नतिजा निल भएको जनाईएको छ ।
जैमिनी नगरपालिकाका ५ विद्यालय मध्ये जनकल्याण मावि छिस्ती, बसन्त मावि छिस्ती, जनप्रिय मावि दमेक, भरतपुरी मावि उपल्लो दमेक र जनकल्याण मावि अर्जेवा रहेका छन । यि विद्यालयको नतिजा शुन्य रहेको जैमिनी नगरपालिकाले जनाएको छ ।
गलकोट नगरपालिकामा खरुवा मावि गलकोट, जनहित मावि मल्म र रत्न लक्ष्मी मावि रिघाको नतिजा शुन्य भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले जानकारी दिए । सापकोटाको अनुसार गलकोट नगरपालिकामा २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । गलकोटमा कुल ५३० विद्यार्थी परिक्षामा सहभागी भएका थिए । त्यसैगरी जिल्लाको बडिगाड गाउँपालिकामा—८ रणसिंहकिटेनीमा रहेको भृकुटी मावि र वडा नं. ४ जलजलामा रहको लोङगा माविको निल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुर्णबहादुर घर्तिले जानकारी दिए । घर्तिका अनुसार गाउँपालिका भित्रका माध्यामि विद्यालयका कुल ४८४ जनामा विद्यार्थी सहभागी रहेता पनि त्यसको जम्मा १३ प्रतिशत अर्थात ६६ जना विद्यार्थी उत्तिर्ण भएका छन ।
ढोरपाटन नगरपालिकामा ५८४ जना विद्यार्थी सहभागी रहेकोमा १४४ जना अर्थात २४.६५ प्रतिशत उत्तिर्ण भएका छन । नगरपालिकाको सरस्वती मावि सुकुरदुङ नतिजा भने शुन्य रहेको छ ।
जिल्लाको ताराखोला गाउँपालिकामा कुल १५६ जना परिक्षामा सहभागी मध्ये ३८ जना विद्यार्थी उत्तिर्ण भएका छन । गाउँपालिकाको जनप्रेम माविको नतिजा निल भएको छ ।
बरेङ गाउँपालिकाको कुल विद्यार्थीको ३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । सल्यान सुखौरा माविबाट परिक्षामा सहभागी ७ जना अनुत्तिर्ण हुँदा सो विद्यालयको नतिजा निल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाको काठेखोला गाउँपालिकामा यस वर्ष कुल ३२३ जना विद्यार्थीमा २०४ अर्थात ६३.१५ प्रतिशत उत्तिर्ण भएका छन । जिल्लाका निसीखोला गाउँपालिकामा ३३० विद्यार्थी सहभागी रहेकोमा १९ प्रतिशत विद्यार्थी मात्र परिक्षामा उत्तिर्ण भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यसैगरी तमानखोला गाउँपालिकामा भने कुनै पनि विद्यालयमा नतिजा शुन्य नरहेको जानकारीमा आएको छ ।
कुल ३७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण
जिल्लामा कुल ३७.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको एसईई परीक्षाको नतिजा अनुसार जिल्लाका कुल विद्यार्थीको ३७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन भने ६२.३ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन ।
गत चैतमा सञ्चालित एसईई परीक्षामा जिल्लाबाट साधारण तर्फ कुल ४ हजार ५० र प्राविधिक तर्फ २२९ विद्यार्थी गरी कुल ४ हजार २७९ विद्यार्थीले परिक्षा दिएका थिए । जसमध्ये कुल १ हजार ६१७ विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङका शिक्षा अधिकृत विदुर शर्मा चापागाईले जानकारी दिए । चापागाईका अनुसार साधारण तर्फ ३७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन भने प्राविधिक तर्फ ७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन ।
चिल्ड्रेन लाईफकी अपेक्षा जिल्लामै प्रथम
परिक्षामा संस्थागत तर्फ चिल्ड्रेन लाईफ ईङलिस बोर्डिङ स्कुल बागलुङमा अध्ययन गरेका छात्रा अपेक्षा श्रेष्ठले ३.९६ जिपिए ल्याएर जिल्लामै प्रथम भएकी छन भने सोही विद्यालयकै छात्रा अंकिता शर्मा ३.९० जिपिए ल्याएर जिल्लामै दोस्रो भएकी छन ।
जिल्लामा सामुदायिक विद्यालय तर्फ बागलुङ नगरपालिका—२ रहेको रुद्रेपिपल माविका किस्मत सुवेदी, नन्दीनी कुमारीले र जैमिनी नगरपालिका— ४ सर्कुवामा रहेको जनता माविमा अध्ययन गरेका आर्नभ शर्माले सामुदायिक तर्फ सवै भन्दा बढि ३.८६ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट भएका छन । जिल्लामा ग्रेड बृद्धिका लागि साधारण तर्फ १ हजार २०७ र प्राविधिक तर्फ ८७ जना सहभागी हुने चापागाईले बताए ।
बागलुङ नगरपालिका ७१.६० प्रतिशत उत्तिर्ण
जिल्लाको सवै भन्दा ठुलो स्थानिय तह बागलुङ नगरपालिकामा कुल ७१.६० विद्यार्थी उत्तिर्ण भएका छन । कुल १ हजार ६७ जना मध्ये २९९ जना विद्यार्थी अनुत्तिर्ण भएको बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए । नगरपालिकामा अघिल्लो वर्षमा भन्दा यस वर्ष नमुना विद्यालयको नतिजा पनि खस्केको पोखरेलले बताए । ‘विगतका वर्षमा भन्दा यस वर्षको नतिजा खस्केको छ पोखेरेले भने—‘हाम्रा नमुना सामुदायिक विद्यालयमा पनि सोचे जस्तो नतिजा आउन सकेन । तर जिल्लामै सामुदायिक तर्फ यहीको रुद्रेपिपल माविबाट २ विद्यार्थी उत्कृष्ट भएका छन । निजी विद्यालयका त अधिकाशं सतप्रतिशत नै विद्यार्थी उत्तिर्ण भएका छन ।
पाठ्यक्रम पनि परिवर्तन हुँदा नतिजा सन्तोषजनक भएन
गाउँपालिकाका शिक्षा शाखा संयोजकहरुका अनुसार विगतका वर्षमा भन्दा यस वर्षको नतिजा खस्केको बताईएको छ । विगतका वर्षको कोभिडका कारण विद्यालय तहबाटै विद्यार्थीको मुल्याङ्क गर्ने गरिएको थियो । तर पछिल्ला वर्षमा भने पुन नयाँ ढंगले परिक्षा संचालन गरिएको पाठ्यक्रम पनि परिवर्तन हुँदा नतिजा सन्तोषजनक नआएको शिक्षा शाखा प्रमुखहरु बताएछन । नयाँ पाठ्क्रम आएपछि त्यसको बारेमा पर्याप्तरूपमा शिक्षकलाई तालिम र नयाँ पाठ्यक्रम पाठ्यपुस्तकको प्रभावकारी अध्यापन हुन नसक्नुको परिणाम अहिलेको नतिजाले देखाएको जैमिनी नगरपालिकाका शिक्षा शाखा संयोजक खेमप्रसाद आचार्यले बताए । उनले पूर्व अवलम्बन गरिएको मूल्याङ्कन प्रणालीको प्रभावले विद्यार्थीमा विकास भएको ह्रासोन्मुख पठन संस्कृतिले पनि अहम् भूमिका निर्वाह गरेको छ बताएका छन । आगामी वर्षका लागि अहिलेको नतिजाले ठुलै पाठ सिकाएको शिक्षकहरु बताउँछन ।