बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक ८६ वर्षीया जेष्ठ नागरिकको हाडजोर्नी अर्थात हड्कीको सफल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेकी तुलसी थापाको सफल शल्यक्रिया गरिएको हो । गत भदौ २४ गते सुत्ने बेलामा ट्वाईलेट जाँदा लडेर हड्डी भाँचिएको ८६ं वर्षीया थापाको शरीरको देब्रे भागको कम्मरको गोलो हड्डीकोे सफल शल्यक्रिया गरिएको धौलागिरी अस्पतालले जनाएको छ । हाडजोर्नी डाक्टर प्रतिक आचार्य नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अप्रेशन टोलीमा (एनेस्थेसिया) बेहोस पार्ने डाक्टर नविन पौडेल, डाक्टर कमल कार्की, डा.केशवराज पाण्डे, सञ्जु क्षेत्री, नर्स देवि भट्टराई लगायतको टोली रहेका थिए ।
शल्यक्रियाको लागी करिब ३ घन्टा समय लागेको डा.प्रतिक आचार्यले बताए । डा. आचार्य भन्छन् ‘ बृद्ध बुबा आमाहरुको हड्डी यसै पनि कमजोर हुन्छ । त्यही माथी शल्यक्रिया, यो जति जटिल छ त्यती नै जोखिम पनि छ । यो निकै कठिन कार्य पनि हो ।’ भन्छन् ‘ ८६ वर्ष उमेरका बृद्धको हड्डीको शल्यक्रिया गर्न निकै कठिन छ । औषधी चलाउन पनि उत्तिकै सोच्न पर्छ । शल्यक्रिया गर्दा गर्दै अर्को ठाउँमा भाँचिने सम्भावना हुन्छ । जसो तसो सबै कुुराको व्यवस्थापन गरि शल्यक्रिया गर्न सफल भयौँ ।’
यो अप्रेशन धौलागिरी अस्पतालको ईतिहाँसमै पहिलो पटक हो । देशका सबै अस्पतालमा यस्तो अप्रेशनलाई चिकित्सकले निकै जोखिमका रुपमा लिन्छन् । निजी अस्पतालमा यस्तो जटिल अप्रेशन गरेवापत कम्तिीमा ५ लाख रुपैयाँ लिने गरेका छन् । सफल शल्क्रियाका लागी धौलागिरी अस्पतालका प्रमुख सुरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बिक पोख्रेलले शल्यक्रिया गर्ने टोलीलाई धन्यवाद व्यक्त गरे ।
अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले बृद्ध उमेरको व्यक्तिको हड्डीको शल्यक्रिया गर्नु मानवीय कार्य रहेको बताए ।