बागलुङ- नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि बैशाख १५ गते देखी भर्ना अभियान र २१ गतेबाट नियमित पठन पाठन सुरु गर्ने निणर्य गरेपनि बागलुङको बडिगाड गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डर अनुसार अगावै कार्यक्रम सुरु गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सोमबार एक सूचना सार्वजनिक गदैगाउँपालिकाले वैशाख २ गतेदेखि नै नयाँ भर्ना अभियान सञ्चालन गर्ने र सोही मितिबाट नियमित पठन–पाठन सुरु गर्ने निर्णय गरेको जनाएकी छन । उनले स्थानीय तहलाई संविधानले प्रदान गरेको शिक्षा व्यवस्थापन सम्बन्धी अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको बताईन । अधिकारीका अनुसार बैशाख ६ गतेबाट नियमित कक्षा संचालन हुनेछन ।
गाउँपालिकाले आफ्नो मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्धारित मितिदेखि नै भर्ना अभियान सञ्चालन गरी नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, विद्यार्थी भर्ना दर वृद्धि र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन पनि विद्यालयहरुलाई आग्रह गरिएको छ ।
स्थानीय स्तरमै शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न र शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताईन । “शिक्षा तथा मानव श्रोत विकास केन्द्रको पत्रानुसार २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्ने र २०८३ वैशाख २१ गतेबाट पठन–पाठन सुरु गर्ने निर्णय भएको सन्दर्भमा नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए वमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गरी गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले २०८३ वैशाख २ गते देखि भर्ना अभियान तथा नियमित पठन–पाठन सञ्चालन गर्नगराउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ गाउँपालिकाबाट प्रकाशन गरिएको सूचनामा भनिएको छ । गाउँपालिकाले आफ्नो स्थानिय तहको अधिकार र शैक्षिक क्यालेन्डर अनुसार कक्षा संचालन गर्न लागिएको जनाएको छ ।
