काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि देखी रास्वपाबाट संसदको यात्रामा सुशिल खड्का

  • फाल्गुण २६, २०८२

बागलुङ - म्याग्दीको मंगला गाउँपालिका–२ सातविसेको माटोमा जन्मिएका सुशिल खड्काको जीवनयात्रा विभिन्न आरोह अवरोहसँगै संघीय संसदको ढोकासम्म आइपुगेको छ । १२ वर्ष अघि अमेरिकाको बसाई  छाडेर आफ्नै माटोमा केही गर्ने उद्देश्यका साथ नेपाल फर्किएर सुशिल एउटा असल उद्यमी मात्र बनेका छैनन उनि निति निर्माण गर्ने थलोको रुपमा रहेको प्रतिनिधि सभा सदस्यमा रास्वपाको तर्फबाट बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित बनेका छन ।  
म्याग्दी र बागलुङमै माध्यमिक शिक्षा पढेका खड्का उच्च शिक्षाका लागि काठमाडौं हुँदै अमेरिका पुगे । तर विदेशको सुविधाभन्दा आफ्नै देशमा केही गरौँ भन्ने भावना उनलाई सधैँ तानिरह्यो । यही भावनाले करिब १२ वर्षअघि उनले अमेरिकाको बसाइ त्यागेर नेपाल फर्कने निर्णय गरे ।  नेपाल फर्किएपछि उनले उद्यमशीलताको बाटो रोजे ।  
रेस्टुरेन्ट, फोहोरमैला व्यवस्थापन, कृषि र हरित लगानी जस्ता क्षेत्रमा उनले विभिन्न उद्यम सुरु गरे । ‘अभ्नी भेन्चर्स’मार्फत नेपालकै ठूलो प्लास्टिक रिसाइकलिङ सञ्जाल स्थापना गरी चार सयभन्दा बढीलाई रोजगारी दिएको उनी बताउँछन् । वातावरणमैत्री व्यवस्थापन मार्फत विकास सम्भव छ भन्ने सन्देश दिन खड्काले निरन्तर प्रयास गर्दै आएका छन् ।
नेपाली काँग्रेस म्याग्दीको क्रियाशिल सदस्यबाट आफ्नो राजनितिक यात्रालाई शुभारम्भ गरेका खड्का काँग्रेसको १४औँ महाधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधि समेत बने । त्यतिबेला उनी पार्टीभित्रै रहेर राजनीतिमा योगदान दिन खोजिरहेको उनका साथी समेत रहेका काँग्रेस म्याग्दीका सचिव भरत रकाल बताउँछन । रकालका अनुसार उनि पहिलै देखी नै हरेक क्षेत्रको नेतृत्वमा अग्रसर हुन्थे पार्टी भित्र पनि इमान्दार र कर्मठ युवाको रुपमा परिचित थिए । खड्काको सम्बन्ध रास्वपाका उपसभापती डा.स्वर्णिम वाग्लेसँगको निकटकता थियो । वाग्लेसँगकै निकटताले यस पटकको निर्वाचनमा बागलुङ १ मा प्रतिनिधि सभाको उम्मेदवार बनेको उनका निकटतमहरु बताउँछन । 
 नयाँ पार्टी, नयाँ अनुहार र परिवर्तनको अपेक्षाबीच उनी  निर्वाचनमा उम्मेदवार बने । चुनावी मैदानमा उनी ‘बागलुङको छोरा, विश्वको ज्ञान—युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उत्रिएका थिए । जनताको विश्वासले उनलाई २० हजार ९२७ मतसहित विजयी बनायो । काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिबाट सुरु भएको उनको राजनीतिक यात्रा रास्वपाबाट अब संघीय संसदसम्म आइपुगेको छ ।
उद्यमशीलतासँगै खड्का सामाजिक काममा पनि सक्रिय रहँदै आएका छन् । धौलागिरी, सगरमाथा र कञ्चनजङ्गा लगायतका ९ वटा हिमाल सरसफाइ अभियानमा उनले योगदान पु¥याएका छन् । त्यसको कदरस्वरूप उनलाई नेपाली सेनाले सम्मानसमेत गरेको छ। बागलुङ कालिका मन्दिर क्षेत्रको धार्मिक वन संरक्षणका लागि गरिएको अध्ययनमा १८७ प्रजातिका रुखको पहिचान समेत गरेका थिए । 
बाबुको जागिरसँगै परिवार बागलुङ सरेपछि यही सहरले उनलाई हुर्कायो, पढायो र जीवनका धेरै पाठ सिकायो । तर जन्मथलो म्याग्दीको माटो प्रतिको सम्बन्ध भने कहिल्यै टुटेको छैन । म्याग्दीमा रहेको आफ्नो जग्गा जमिनमा उनले उद्यमी गरेका छन । त्यहाँ रहेको घर र खेतजमिनसँग उनको भावनात्मक नाता अझै जीवित छ, जहाँ अहिले पनि केराखेती हुँदै आएको छ । उनले केराखेतीबाट आफ्नो उद्यमीलाई अगाडी बढाएका छन ।
केमिकल इन्जिनियर र अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका खड्का उद्यम र नीतिलाई जोडेर देश विकास गर्न सकिन्छ भन्ने विश्वास राख्छन् । विदेशको अनुभव, गाउँको माटो र युवाको ऊर्जा बोकेर संसद पुगेका उनी समृद्ध बागलुङ र आत्मनिर्भर नेपालको सपना साकार पार्ने लक्ष्यसहित राजनीतिमा अघि बढेको बताउँछन ।   
निर्वाचनमा उनले बागलुङका लागि पाँच मुख्य प्रतिवद्धता अघि सारेका थिए—भ्रष्टाचारको अन्त्य, गुमेको बागलुङको गौरव पुनर्जीवित गर्ने, आयमूलक प्राविधिक शिक्षाको केन्द्र बनाउने, पाँच वर्षभित्र कृषि, पर्यटन, वन पैदावर, आईटी र फोहोर व्यवस्थापन क्षेत्रबाट १२ हजार रोजगारी सिर्जना गर्ने तथा आध्यात्मिक र साहसिक पर्यटनको केन्द्रका रूपमा ‘ब्राण्ड बागलुङ’ स्थापना गर्ने । ति प्रतिवद्धता पुरागर्ने अभिभारा जनताले दिएका छन । 
 निर्वाचन जितेसँगै उनले कसैको भनसुनमा काम नगर्ने र बागलुङका समस्या, सम्भावना र अवसरको अध्ययन गरेर संघीय संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन ्। उनको प्रतिबद्धता अब व्यवहारमा कति रूपान्तरित हुन्छ, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया