• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

तोकिएको समयमा सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित

  • पुस २३, २०८१

नारायण रिजाल-  बागलुङ !   चौथो पटक म्याद थप गर्दापनि तोकिएको समयमा सडक कालोपत्रे नभएपछि स्थानियहरु आन्दोलित भएका छन । जिल्लाको कुश्मिसेरा, राङखानी, नान्दुक बरेङ गुल्मी शान्तिपुर सडक खण्ड अन्तगत जैमिनी नगरपालिका–१ कुश्मिसेरादेखि वडा नं. १० राङ्खानी नाम्दुकसम्मको १० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेको काम समयमा सम्पन्न नहुँदा स्थानियहरु आन्दोलित भएका हुन ।  
    सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी शर्मा क्याराभान जे.भी कम्पनीको लापरबाहीको कारण सडक अलपत्र अवस्थामा परेको भनि स्थानियले पुर्वाधार विकास कार्यालय बागलुङ घेराउ गरेका छन ।  काम सुरु भएको पाँच बर्षसम्म पनि सडकको दुरावस्था सुधार नभएपछि स्थानिय युवा समाजसेवी तथा नेपाली काँग्रेसका नेता भिम श्रीषको नेतृत्वमा सघर्ष समिति नै गठन गरी बागलुङको दक्षिणका सर्वसाधारण आन्दोलित भएका हुन । बारम्बार निर्माण व्यवसायी चन्द्र थकालीलाई स्थानिय देखी पुर्वाधार विकास कार्यालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले समेत ताकेता गरेपनि सडक निर्माणको काम आगाडी बढ्न सकेको छैन । आगामी चैत्र मसान्त सम्म म्याद रहेता पनि सो अवधिमा काम सम्पन्न हुन कठिनाई भएका कारण समयमा नै काम सम्पन्न गर्न दबाब स्वरुप दक्षिण बागलुङका नागरिक आन्दोलिन हुन परेको सघर्ष समितिका संयोजक श्रीष बताउँछन । 
मुख्यमन्त्रीलाई समेत ध्यार्कषण
    सघर्ष समितिले यस अगाडी पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कार्यालयमा नै पुगेर ज्ञापन पत्र बुझाउनुका साथै समयमा नै काम सम्पन्न गर्न ध्यानकर्षण गराएको थियो । तर निर्माण कम्पनीले काम गर्ने लक्षण नदेखेपनि थप दबाबका लागि पुर्वाधार विकास कार्यालय नै घेराउ लगायतका कार्यक्रम संचालन गरिएको श्रीषले बताए । ‘दुईबर्षमा निर्माणको काम सक्नेगरी सम्झौता गरेर जिम्मा लिएको कम्पनीले पाँच बर्षसम्मपनि देखिनेगरी काम नथालेपछि सघर्ष गर्नुपरेको हो ।, श्रीषले भने,–‘निर्माण व्यवसायी लामो समयदेखि सम्पर्कविहिन भई निर्माण कार्यमा देखाएको चरम लापरवाही भयो, हामीले यस अगाडी यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रेको माग गर्दै १५ दिने अल्टिमेटमसहित मुख्यमन्त्रिको कार्यालयमा ज्ञापन पत्र पनि बुझायौं तर निर्माण व्यवसायी सम्पर्कमा आउनुभएन अहिले प्रतिनिधि पठाउनुभएको छ तर काम भने सुरु भएको छैन ।’ उनले सरकार र शक्ति केन्द्रको आडमा पटकपटक म्याद थप्दै जाने प्रवृतिले सर्वसाधारणले सधैं दुःख पाएको बताए । समयमा काम सम्पन्न नहुँदा यस क्षेत्रका सर्वसाधारणले हिँउको समयमा धुलो र वर्षा याममा हिलोको सास्ती खेप्नु परेको छ । 
५६ प्रतिशत वित्तिय प्रगती ५७ प्रतिशत भौतिक प्रगती 
पुर्वाधार विकास कार्यालय बागलुङका अनुसार उक्त सडक कालोपत्रे गर्ने गरी २०७६ असोज २७ गते सम्झौता भएको थियो ।  दुई बर्षमा काम सक्नेगरी सम्झौता भएता पनि चौथो पटक म्याद थप्दासम्म ५७.२० प्रतिशत भौतिक र ५६ प्रतिशत बित्तिय प्रगती भएको पूर्वाधार बिकास कार्यालय बागलुङका प्रमुख दिनेश कुमार घिमिरेले बताए । २०७६ असोज २९ गते सोही सडक अन्तरगतको पाग्जा सरंगी खण्डको जिम्मेबारी पाएको कर्ण बिल्डर्सले भने तोकिएको मिति भन्दा ६ महिना पहिलै काम सकेर हस्तान्त्रण गरेको थियो । २४ करोड ५८ लाख ५७ हजार ८१७ रुपैयाँमा ठेक्का सम्झौता गरेको कम्पनीले १४ करोड ७३ लाख ३०९ रुपैयाँ भुक्तानी पाईसकेको छ । 
तोकिएको समयमा काम सक्ने निर्माण कम्पनीको दाबी
संघर्ष समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्न थालेपछि निर्माण कम्पनीका प्रतिनिधि तेजराज शाहिले माघको पहिलो सातादेखि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । शाहीले माघको पहिलो साताबाट काम सुरु गरे चैत्र मसान्तमा नै भ्याउने र नभएको खण्डमा असार मसान्त सम्ममा काम सकिने प्रतिवद्धता व्यक्त गरे । उनले यो सडक खण्डमा यस अघि केही संरचना बनिसकेको हुँदा नियमित काम गर्न सकेमा तोकिएको समयमा काम सम्पन्न हुने बताए । तर यसअघी बनेका संरचना समेत भत्किएका छन् । कम्पनीले काम गर्नेमा अझैपनि संका रहेका स्थानिय बताउँछन ।  स्थानीयले भने ठेक्का तोडेर नयाँ निर्माण व्यवसायीलाई काम दिनुपर्ने माग गर्दै आएका छन् ।  निर्माण कम्पनीका प्रतिनिधिले भने आफुहरुले नियमित काम गर्न पाएमा समयमा नै सम्पन्न गर्ने दाबी गरेका छन । 
कार्यालय राख्न लिएको जग्गाको २२ लाख रुपैयाँ भाडा तिर्न बाँकी 
यस अगाडी उक्त सडक खण्डमा काम गर्ने समयमा निर्माण कम्पनीको कार्यालय राखेको  कामदारहरु राखेको घरको भाडा उपभोग गरेको जग्गा भाडा हाल सम्म पाएका छैनन । जैमिनी नगरपालिका–१० राङखानीका स्थानिय तेजनाथ उपाध्यायको झण्डै २२ लाख रुपैयाँ हाल सम्म भुक्तानी नगरेको सोही स्थानका जयराम आचार्यले बताए । आचार्यले पनि कामदारहरुका लागि प्रदान गरेको खाद्यान्नको ७ लाख रुपैयाँ निर्माण कम्पनीबाट लिन बाँकी रहेको बताए । ‘निर्माण कम्पनीले कार्यालय संचालन गरेको थियो । सामाग्री राख्नका लागि जग्गा र घर पनि भाडामा लिएको थियो आचार्यले भने’–‘सो भाडा हाल सम्म तिरेकै छैनन् । मेरो पनि पसलबाट कामदारहरुका लागि प्रदान गरेको नगद ७ लाख रुपैयाँ भुक्तानी बाँकी छ । सडक निर्माण मात्र हैन निर्माण व्यवसायीले अन्य ठाउँमा पनि भुक्तानी अलपत्र पारेका छन । उनले ऋण काडेर पसलमा सामान खरिद गरेर विक्रि गरियो अहिले भुक्तानी नहुँदा आफुलाई समस्या भएको बताए । 
पुर्वाधार विकास कार्यालयले निर्माण निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको र बुधबार गण्डकी प्रदेश पुर्वाधार विकास मन्त्रालयमा सचिवसँग बसी यसको बारेमा थप छलफल गर्ने बताएको छ । कार्यालय प्रमुख घिमिरेका अनुसार निर्माण व्यवसायी संघर्ष समिति र प्रदेश सचिव सहित बसेर समस्याको समाधान गर्ने र समयमा नै काम सम्पन्न गर्नका लागि आग्रह गर्ने बताईएको छ । 
 

प्रतिक्रिया