पुर्वाधारको सार्वजनिक सुनुवाई ‘जनशक्ति अभावका बीच सेवा प्रवाहमा अधिकतम प्रयास’

  • ब‌ैशाख २८, २०८०

बागलुङ- पूर्वाधार विकास कार्यालय बागलुङबाट प्रदान गरिने सेवा प्रवाहका बारेमा जिल्लाको बरेङ गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशले प्रदेशका विभिन्न मन्त्रालय अन्तरगतका कार्यालयबाट सम्पादन हुने काम र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गर्दै आएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट लिउँवामा आर्थिक वर्ष २०७८/०७९मा प्रदान गरिएको सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । 
सार्वजनिक सुनुवाई कार्यक्रमा पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले कार्यालयमा जनशक्ति अभावका वीच पनि सेवा प्रवाहमा अधिकतम प्रयास गरेको बताए । उनले  आर्थिक वर्षमा सम्पन्न गरेका सडक, मोटरेवल पुल, भवन तथा जनता आवासको विषयमा जानकारी गराएका थिए । 
सुशासनका लागि नागरिक समाज पोखराको समन्वयमा आयोजित सार्वजनिक सुनुवाईमा पूर्वाधार विकासका बारेमा १२ जना सहभागीले पूर्वाधार विकास कार्यालयको सेवा प्रवाहका विषयमा गुनासो राखेका थिए । 
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले उपभोत्ता समिति मार्फत पूर्वाधर निर्माण गर्दा ढुवानी खर्च बढी लागेको, मुल्य वृद्धिका कारण समस्या भएको र भुक्तानी लिन झन्झटिलो भएको गुनासो राखेका थिए । सहभागीले योजनाका काममा प्राविधिकको निरन्तर अनुगमनले मात्र गुणस्तरीय र मजबुद हुने सुझाव दिएका थिए । 


गुनासोलाई सम्बोधन गर्दै प्रमुख इन्जिनियर सुवेदीले कुश्मिसेरा देखि बरेङ आउने सडकको दूई खण्ड मध्ये दोस्रो खण्ड धमाधम काम भइरहेको बताउदै पहिलो खण्डलाई समेत अघि बढाउने गरी आवश्यक समन्वय गरिएको बताए । उनले जिल्लामा पुर्वाधार विकास कार्यालयबाट संचालन भएका ६ वटा ठुला योजनाको कामलाई निरन्तर फलोअप र अनुगमन गरेको जानकारी दिए । पुर्वाधार विकास कार्यालयले सडक, पुल, झोलुङ्गे पुल, र जनता आवासका कार्यक्रम संचालन गर्दै आएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले सबै कार्यालयले गरेको गतिविधि पारदर्शी हुनुपर्ने बताए । उनले सरकारी कार्यालयका काम कारवाहीहरु जनतासामु पुग्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम लगायले पुर्वाधार विकास कार्यालयबाट सम्पादन हुने कामका लागि सम्बन्धीत कार्यालयले नियमित सहयोग गर्ने बताए । 
सार्वजनिक सुनुवाईमा बरेङ गाउँपालिका–१ वडा अध्यक्ष नरसेङ पुन, वडा सदस्य पूर्ण बहादुर थापा, ४ का वडा अध्यक्ष किशन खत्री, ५ का वडा अध्यक्ष अमर बहादुर शेरपुर्जा, पत्रकार प्रकाश छन्त्याल, यम बहादुर क्षेत्री, टिका आचार्य, चुडामणी शर्मा, ओमकार आचार्य र दल बहादुर थापाले गुनासो तथा सुझाव व्यक्त गरेका थिए ।
कार्यक्रम पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख गणेश सुवेदी अध्यक्षता  र सुसासनका लागि नागरिक समाज पोखराका अध्यक्ष  रविन्द बास्तोलाको स्वागत र भानु पराजुलीको सहजीकरणमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया