बागलुङ - बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी बताएका हुन । आफ्नो पदबहाली सँग मतदातालाई धन्यबाद दिन राखिएको पत्रकार सम्मेलनमा बाेल्दै श्रेष्ठले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गरे । “भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उनले भने “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।” नयाँ सडक खोलेर कुनै ग्रेड नमिलाउने क्षती मात्र बनाउने काम भै रहेको छ अब यसको अन्त्य हुनेछ । उनले नगरभित्रका साविका सवै वडाका गाउँगाउँमा सडक सञ्जालले जोडिई सकेका कारण अबको बजेट नयाँ सडकका लागि नभएर स्तरोन्नतीका लागि खर्चिने बताए ।
सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताए । नगरप्रमुख श्रेष्ठले मन लागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाए । “अबको कार्यपालिकाबाट बैठकले यस विषयमा निर्णय नै गर्छ”, उनले भने ।
जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताए । यस्तै ग्रामीण भेगको सडकको सफाइ र मर्मतसुधारको कामलाई पनि तत्कालै अघि बढाइने उनले उल्लेख गरे ।
“पक्की सडकमा खाल्डाखुल्डी परेमा तत्कालै कालोपत्र गर्न मिल्ने उपकरण नगर आफैँले किन्छ, त्यसका लागि आउँदो आवमा बजेट छुट्याउँछौँ”, उनले भने, “नगर चक्रपथलगायत ठूला सडक आयोजनाका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट पार्न पहल सुरु गरिसकेका छौँ ।”
‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने उनले बताए। “चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउँछौँ”, उनले भने
पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गरेका छन । विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने श्रेष्ठको भनाई छ ।