बागलुङ- नेपाल शिक्षक संघले बागलुङले ५५ जना सेवा निवृत्त शिक्षकलाई एकैपटक सम्मान गरेको छ । संघको २२ औं जिल्ला प्रतिनिधि सभा तथा नबौं जिल्ला अधिवेशन अधिवेशनको अवसरमा पछिल्लो दुई वर्षमा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले शनिबार सबै शिक्षकलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाए । उनीहरुको सफल जीवनका लागि पौडेलले शुभकामना पनि दिए । गत स्थानीय निर्वाचनमा जनप्रतिनिधिमा निर्वाचित भएका, उमेर हदले निवृत्त भएका तथा अन्य पेसामा लागेकाहरुलाई गोल्डेन ह्याण्डसेक स्वरुप संघले सम्मान गरेको अध्यक्ष उमाकान्त पौडेलले बताए । उक्त अवसरमा दुई वर्षभित्र मृत्यु भएका शिक्षकका प्रतिनिधिलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।
अधिवेशनले शिक्षामा गुणस्तर बढाउने र शिक्षकहरुको पेसागत अवस्था सुधार गर्ने लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम छ । शनिबार र आइतबार हुने भेला तथा अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ । अधिवेशनका लागि जिल्लाभरका १ हजार ५ सय शिक्षक सदरमुकाम आएका छन् ।
शिक्षकहरुले विद्यालय कर्मचारी, राहत शिक्षक, बाल शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरुको दरबन्दी कायम गर्नुपर्ने माग राखेका छन् ।