बडा दशै‌को पहिलो दिन बागलुङ कालिकामा भक्तजनको भिड

  • असोज १०, २०७९

बागलुङ_ बडा दशैंको पहिलो दिन बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । सोमबार पहिलो दिन घटस्थापनाको दिन विहानै मन्दिरमा सयौं भक्तजनको भीड लागेको थियो । चैतेदशै र बडादशैमा कालिकामा भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिनपनि बिहान ४ बजेदेखिनै भक्तजन पुगेर लामबद्ध भइ पूजा गरेका थिए । दशैभर भक्तजनको भीड लाग्ने गरेको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । दशैभरबाट सयौं भक्तजन यहाँ पुजा गर्न  आउने गर्छन । 

सोह्र श्राद्ध सकेर मुक्तिनाथबाट फर्कने भक्तजनपनि कालीका दर्शन गरेर मात्र घरघरमा लाग्ने गर्छन् । बागलुङ कालीका प्रति धेरै भक्तजनको आस्था र विश्वास छ । ‘टाढा देखि धेरै मानिस आउ“छन्, हामीपनि पोखराबाट दर्शन गर्न आयौं’ काठमाण्डौ घर भइ पोखरामा रोजगारीमा बसेका राम श्रेष्ठले भने, ‘कालीका प्रति धेरैनै विश्वास छ ।’ समय समयमा छिमेकीहरु कालिका मन्दिर आएकोले आ“फू पनि आएको उनले बताए ।

पूजा र बली व्यवस्थापन गर्दै सरसफाई गरिएकोले कालिका मन्दिर चिटिक्क देखिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । पूजाकालागि एक दर्जन स्टल बनेका छन् । कतिपयले भुइमै बसे पनि पूजा गर्छन् । घटस्थापना देखि शुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमा सम्म चल्ने खड्काले बताए । 

पोखरा बागलुङ सडक देखि ७ सय मीटर भित्र जंगलमा रहेकोले भक्तजनले मन्दिर पुग्दा पनि आनन्द अनुभव गर्छन् । गुठीले पञ्चवर्षे योजना सहित गुरुयोजना बनाएर काम गरिरहेकोले केही बर्षदेखि मन्दिर आउने भक्तजन बढीरहेका छन् । खानेपानी, सार्वजनिक टेलिफोन, सुरक्षाकर्मी लगायतको व्यवस्थापनले भक्तजनले सुरक्षित महसुस गर्न थालेका छन् । भक्तजनलाई हात धुने पानी र जुत्ता चप्पल सुरक्षित गर्ने लकर समेत बनाइएको छ । घटस्थापनाकै दिन पारेर बागलुङ कालीका सहित शक्ती पिठहरुमा जमरा पनि राखिएको छ । 
 

प्रतिक्रिया