डेढ लाख राशीको जेसिज कप फुटबल सुरु

  • ब‌ैशाख १७, २०८०

बागलुङ । बागलुङ जेसिजको आयोजनामा डेढ लाख राशी पुरस्कार भएको अर्ना जेसिजकप फुटबल प्रतियोगिता सुरु भएको छ । आगामी बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापाले उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै थापाले युवाहरुलाई जागरुक बनाउनका निम्ती जेसिज बागलुङको महत्वपुर्ण भुमिका रहेको बताए । उनले खेलकुद सवैका लागि अपरिहार्य भएको हुँदा यस क्षेत्रको विकासका निम्ती सवै सरोकारवाला लाग्नुपर्ने बताए । थापाले स्थानिय तहहरुले खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराखेको प्रति गुनासो व्यक्त गरे । उनले सवै पालकाले खेल क्षेत्रलाई पनि ध्यान दिन जरुर रहेको बताए । थापाले जेसिजले युवाहरुको क्षमता विकासमा महत्वपुर्ण भुमिका खेलेको बताए । 
नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले ‘जेसिज कप फुटबल’ प्रतियोगिताको आयोजना गरिएको बागलुङ जेसिजका अध्यक्ष सौरब श्रेष्ठले जानकारी दिए । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत दिनेश शर्मा, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, बागलुङ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ लगायतले बोलेका थिए  । 
बागलुङको बाङ्गेचौर खेल मैदानमा संचालन हुने प्रतियोगितामा साविक धौलागिरि अंचलका बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका ११ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षकलगायत पाँच अलग–अलग विधामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरब खत्रीले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अर्ना वेयर रहेको छ । कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष सौरव श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक सौरव खत्रीको स्वागत र महासचिव एञ्जीला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया