बलेवाको भैरवस्थान मन्दिरमा हरेलो मेला

  • साउन २७, २०८०

बागलुङ ।   बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ ।  बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा दोस्रो हरेलो मेला गरिने  भएको हो ।  ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ अगामी भदौ ५ गते मंगलबारको दिन मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । मेलाको उद्घाटन गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने भएका छन । मेलाको अवसरमा भैरवस्थान लोकभजन, छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । 
मेलामा १३ लाख रुपैयाँ आम्दानी र ११ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाको लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा ५ वटा रेष्टुरेन्टका स्टलहरु राखिने छन । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने मेला मुल आयोजक समितिले जनाएको छ । 
बाइसे चौबिसे राज्यको समयमा सन १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन । त्यही अवसरमा गत वर्ष देखी हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास  रहेको छ । नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ ।  मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकाल बताउँछन ।  

नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गर्छन । मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन । मन्दिर नजिकै पाग्जाकोटको धुरी पनि छ । धुरी नजिकै भ्युटावर पनि निर्माण गरिएको छ ।  भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डे नजिकै पर्छ । प्राकृतिक दृश्यावलोकन गरेर होमस्टेमा बस्ने चाहना भएका पर्यटक पनि भैरवस्थान पुग्ने गरेका छन ।  बागलुङ सदरमुकाम देखी झण्डै १० किलोमिटरको दुरीमा रहेको उक्त मन्दिरमा पर्वतको कुश्मा देखी यान्त्रिक पुल तरेर करिब २ घण्टाको पैदल दुरीमा त्यहाँ पुग्न सकिन्छ । 


 

प्रतिक्रिया