बागलुङ, - बागलुङको बडिगाडमा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । बडिगाड गाउँपालिका–७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी स्थानिय ६० बार्षिय गोपिराम कामीको मृत्यु भएको हो । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो डोजरले खनिरहेको अवस्थामा हेर्न आएका विकको माथिबाट सुख्खा माटो सहित खसेको ढिस्कोले पुरिएर मृत्यु भएको भन्ने जानकारी स्थानियबाट आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विराट पौडेलले बताए । मृतक विक सोही मोटर बाटो उपभोक्ता समितिको गत बर्ष अध्यक्ष समेत थिए ।
पहिरोमा परी मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष ३४ बर्षिय दुर्गा विक र ४१ बर्षिय डिलबहादुर विक घाईते भएका छन । घाईते दुवै जनाको हातमा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
डोजर सडक विस्तार गर्दै गोठान बस्तीतर्फ अघि बढेको थियो । मृत्क विक र अन्य दुई जना सडकको अवलोनको लागि सडक विस्तार क्षेत्रमा पुगेको र अचानक यस्तो घट्ना भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । विगत तीन बर्षदेखि निरन्तरको पहल पछि गोठान बस्तीमा सडक पुग्ने लागेको थियो । वस्तीमा सडकले छुनै लाग्दा अप्रिय घटना भएको अध्यक्ष गुरुङको भनाई छ । ‘वस्तीमा सडक जोडिने भए पछि स्थानीय हर्षित थिए’ अध्यक्ष गुरुङले भने– ‘उपभोक्ता समितिका पूर्वाध्यक्षको निधनले गाउँनै शोकमा डुवेको छ ।’ गाउँपालिकाले उक्त सडक विस्तार गर्न यस बर्ष १५ लाख रुपियाँ विनियोजन गरेको थियो । गोठान बस्तीमा मगर, गुरुङ र दलित समुदायको बसोबास छ । घट्नाको बारेमा थप अनुसन्धान र उद्धारका लागि प्रहरीको टोलि घट्नास्थल तर्फ पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गोठान क्षेत्रमा गएको सुख्खा पहिरो । तस्विर ः स्थानिय दिनेश शर्माको फेसबुकबाट