बागलुङ- नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ बागलुङका प्रत्यक्ष उम्मेदवार हिरा केसीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । शनिबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयाजना गरी केसीले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् । केसीले चुनावी प्रतिबद्धतामा बागलुङ नगरपालिका–१ बाङ्गेचौलाई रङ्गशाला बनाइने बताएका छन् । बागलुङ निर्वाचन क्षेत्र न. १ का उम्मेदवार केसीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै ‘बागलुङ नगरपालिका–१मा रहेको बाङ्गेचौर मैदानमा अत्याधुनिक तथा व्यवस्थित खेलकुद तथा रङ्गशालाको निर्माण गरिने’ उल्लेख गरेका छन् ।
मुख्य गरि ७ बुँदामा रहेको प्रतिबद्धता पत्रको ३मा युवाको श्रम र सीप स्वदेशमै प्रयोग हुने वातावरण निर्माण गरिने उल्लेख गरिएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा नव युवा पुस्ताले उठाएका मागहरुको मर्म र भावनालाई आत्मसाथ गर्दै उनीहरुसँग थप अन्तरक्रिया गरि माग सम्बोधन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै बागलुङ नगर भित्र कबर्ड हल निर्माण गर्ने, युवाहरुलाई उद्यमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न युवाहरुको नेतृत्वमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । माध्यामिक तहका विद्यालयहरुमा खेलकुदलाई अनिवार्य विषयको रुपमा पाठ्यक्रममा समेटी प्रत्येक माध्यामिक विद्यालयमा एउटा खेलकुद प्रशिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
बुँदा न. १ को पूर्वाधार विकास अन्तरगत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई जोड्ने गरि निर्माणाधीन चक्रपथलाई विशेष प्रथामिकतामा राखेर कालोपत्रे गरिने उल्लेख गरिएको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति गर्न विशेष जोड दिइने उल्लेख गरिएको छ । त्यस्तै बागलुङ नगरपालिका भित्र १ हजार जनासम्म अटाउन सक्ने क्षमताको सुबिधासम्पन्न सिटी हल निर्माण गरिने उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य तथा रोजगार तर्फ धवलागिरी बहुमुखी क्याम्पसलाई नयाँ र प्राबिधिक विषय पढाई हुने गरि विश्व विद्यालयमा परिणत गर्ने, सम्बन्धन प्राप्त अन्य क्याम्पसको स्तरोन्नति गर्ने र हरेक पालिकामा कम्तीमा एक–एक वटा सुबिधासम्पन्न स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्ने उल्लेख गरिएको छ । धौलागिरिी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
पर्यटन तर्फ बागलुङ नगरपालिका वडा न. ५ मालिका लगायतका स्थानहरुमा मिनी जू निर्माण गरिने उलेख गरिएको छ । भकुण्डेलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गरिने उल्लेख गरिएको छ । कृषि तथा सहकारी तर्फ कृषिजन्य उत्पादनको वृद्धिकालागि कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिइने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । गरिब तथा विपन्न जनताकोलागि सस्तो ब्याजदरमा ऋण प्रवाहको नीतिगत व्यवस्था गर्दै गरिब एवं विपन्न जनताको घरदैलोसम्म बैङ्क, सहकारी एवं बित्तीय संस्थाको पहुँच पुर्याउन विशेष जोड दिइने उल्लेख गरिएको छ ।
सुशासन तथा पारदर्शिता अन्तरगत नगरपालिका तथा गाउँपालिकाहरुको सेवा प्रणालीलाई पूर्ण रुपमा पारदर्शी बनाइने उल्लेख गरिएको छ । त्यस्तै भ्रष्टार विरुद्ध सामाजिक सचेतना, भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको मान्यता र अमनचयनको वातावरण सिर्जना गरिने उल्लेख गरिएको छ ।