बागलुङ- बागलुङमा चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा चैत्राष्टमी मेला शुक्रबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण विगत दुई वर्ष यता रोकिएको मेला यस पटक भने सञ्चालनमा आएको छ । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको बिहीबार गण्डकी प्रदेश सरकार कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे । मेलाको औपचारिक उद्घाटन भने चैत २६ गते राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बुढाले चैत्राष्टमी मेलाको धार्मिक मात्र नभई सांस्कृतिक र आर्थिक रुपमा पनि महत्व रहेको बताए । ‘चैत्राष्टमी मेला धार्मिक सांस्कृतिक विषय मात्र होईन,’ उनले भने,‘बागलुङ कालिका महिमासंग जोडिएर बागलुङ आउनेहरुले यहाँको अर्थतन्त्रलाई पनि चलायमान बनाउनका लागि ठूलो भूमिका खेल्छन् । यसले यहाँको आर्थिक र पर्यटन विकासका लागि पनि टेवा पुग्छ ।’ वर्षौदेखि चैत्राष्टमी मेलाले खेलकुद, गित संगीत र स्थानीय उत्पादनका बजारीकरणमा समेत टेवा पु¥याउँदै आएको उनी बताउँछन् ।
‘बागलुङका विभिन्न ठाउँमा उत्पादन भएका वस्तुहरुको बजारीकरणका लागि पनि यो मेला महत्वपूर्ण अवसर हुने गरेको देखिन्छ,’ उनी भन्छन्,‘बागलुङमा उत्पादन हुने हस्तकला र घरेलु उद्यमका सामग्रीहरुको विक्री वितरणले यहाँका नागरिक आर्थिक विकासमा सहयोग पुगेको छ ।’ विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको उनबाट निर्मित राडी पाखी घुम लगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो । तराइबाट मसला लगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एक आपसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो ।
विगत लामो समयदेखि स्वतः स्फुर्त रुपमा चैते दशैंको समयमा लाग्दै आएको मेला केही वर्ष यता बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । चैते दशैं मेला बागलुङको मुख्य पहिचानको अवसर पनि हो । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजनहरु आउने गर्छन् । कोरोनाका कारण विगत दुई वर्ष हुन नसकेको मेला यस पटक पुनः सञ्चालन गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताए ।
‘दुई वटा वर्षहरुमा कोरोनाले गर्दा मेला भएन,’खड्काले भने,‘यस पटक फेरी व्यवस्थीत तरिकाले मेला गरेका छौं । चैत २४ बाट सुरु भएर २८ गतेसम्म मेला हुन्छ ।’ मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ । राष्ट्रिय लोक दोहारीगित प्रतियोगितामा प्रथम पुरस्कार नगद तीन लाख, द्वितीय पुरस्कार एक लाख ५० हजार र तृतीय पुरस्कार ७५ हजार रुपैयाँ राखिएको छ ।
कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद तीन लाख, द्वितीय पुरस्कार नगद १ लाख ५० हजार, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २० हजार राखिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउनेछन् । राष्ट्रिय लोक भजन प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार राखिएको अध्यक्ष खड्काले बताए । छेलो फाल्ने प्रतियोगितामा प्रथम पुरस्कार ११ हजार एक सय ११ र द्वितीय पुरस्कार पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार राशी राखिएको छ । बिहीबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा १७ समुह सहभागी भएका छन् ।
विगत लामो समययता स्वतः स्फुर्त रुपमा लाग्दै आएको मेला पछिल्लो समय औपचारिक रुपमा आयोजना हुँदै आएको छ । कहिले बागलुङ उद्योग वाणिज्य संघले त कहिले कालिका मन्दिर गुठी व्यवस्थापन समितिले गर्दै आएको मेला केही वर्षयता निरन्तर गुठीले गर्दै आएको छ । मेलामा अवसरमा घरेलु तथा हस्तकलाका सामग्रीसंगै फेन्सी तथा होटल रेष्टुरेन्टका स्टलहरु पनि राखिएका छन् । गत शनिबार एकै दिन दुई लाख बढि श्रद्धालु भक्तजनहरुले बागलुङ कालिका मन्दिरको दर्शन गरेकाले १० लाख बढी पर्यटक यो चैत्राष्टमी मेला अवधिभर आउने विश्वास गरिएको छ ।
विक्रम संवत १५९१ सालमा पर्वते राजा प्रतापीनारायण मल्ले पाल्पाली राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेपछि राजकुमारीले दाइजो स्वरुप ल्याएकी माझकी देवीको मूर्ति बागलुङमा ल्याएर बिसाएपछि पुनः बोक्न खोज्दा उठाउन नसकेपछि यही मन्दिरको स्थापना गरिएको किम्बदन्ती छ । राजकुमारीको प्रिय देवीलाई यही छाड्नुपरेपछि राजाले रानीलाई खुसी पार्न हरेक चैते दशैंमा मेला गर्ने परम्पराको थालनी गरेको बताईन्छ ।
बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । धार्मिक आस्थाका मात्र नभएर घुम्न आउनेहरु पनि बागलुङ कालिका मन्दिर आउने गरेका छन् । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयलाई प्याकेजको रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीको विश्वास छ ।
चैत्राष्टमी मेलामा आयोजित भलिबल प्रतियोगिताका उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री चन्द्र बुढामगर सागर ।