गलकोट र बडिगाडलाई क्षयरोग मुक्त पालिका बनाईने

  • चैत १०, २०८०

बागलुङ - बागलुङका दुई स्थानिय तहलाई क्षयरोग मुक्त बनाउने अभियान संचालन गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य सहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानिय तहले काम अगाडी बढाएका छन । यस क्षेत्रमा क्षयरोग संक्रमणको दर पनि उच्च रहेको र यसको निवारण यही बाट सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ  । क्षयरोग मुक्त बनाउनका निम्ती सरोकारवाला निकाय र स्थानिय सरकारले पालिका भित्र क्षयरोग खोज पड्तालका कार्यक्रमहरु संचालन गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । 
‘हो हामी क्षयरोग अन्त्य गर्छौ’  
‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारणको अभियान थालिएको छ ।, जिल्ला भरीका सवै पालिकामा परीक्षणको दायरा बढाएर क्षयरोग पत्ता लगाउनेको दर पनि बढ्दै गएको छ । घिमिरेले भने,—‘पहिलो चरणमा बडिगाड र गलकोटलाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य लिएका छौं ।,  हाम्रो लक्ष्य छिट्ट पुरा गर्ने छौं । त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएका छौं ।’ परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि उल्लेख्य भेटिएको छ ।, संक्रमित नियमित औषधी सेवन गरेमा सर्ने दर पनि घट्दै जान्छ यसले निवारणमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ कार्यक्रम अन्तर्गत क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठन लगायतका कार्यको थालनी गरिएको छ । 
क्षयरोगका विरामीको खोजपड्ताल
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय र बडिगाड गाउँपालिकाले केही समय पहिले क्षयरोगका विरामीको खोजपड्तालका निम्ती शिविर नै आयोजना गरेको थियो ।  क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको समेत खकार परीक्षण गर्ने योजना घिमिरेले सुनाए । एक जना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकोले यो कोरोनाभन्दा पनि जोखिम भएको उनले भनाई छ । 
‘हामीले सामान्य मानेका छौं, तर यो भयानक संक्रमण हो’ घिमिरेले भने, ‘सामान्य जस्तो लाग्नेले पनि क्षयरोगका व्याक्टेरिया बोकेर हिंडेका छौं ।’ रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती व्यक्टेरिया सक्रिय बन्न सक्छन । नेपालका ६० प्रतिशत युवामा क्षयरोगका व्याक्टेरिया भएको स्वास्थ्यकर्मि बताउँछन ।’ धुम्रपान र मध्यपान गर्नेलाई संक्रमण बढी हुने तथ्य रहेको घिमिरेले बताए । 
चालु ८ महिनामा २ सय २७ क्षयरोगका विरामी
स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा गत वर्ष २ सय ३५ जनामा क्षयरोग संक्रमण भएकोमा चालुवर्षको ८ महिनामै २ सय २७ पुगेको हो । यही दरले बढ्ने हो भने अघिल्लो वर्षको तुलनामा क्षयरोगीको संख्या झनै बृद्धि हुने अनुमान गरिएको छ । 
पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै संक्रमित पनि बढेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए । जिल्लाका १४ वटा ल्यावबाट क्षयरोग परिक्षण हुने गरेको छ । जटिल प्रकारको अवस्थाबाहेक सबै क्षयरोगका संकास्पद विरामीको खकार  ती ल्याबबाट खकार परीक्षण गरिँदै आएको छ । क्षयरोगको उपचारका लागि जिल्लाका ८५ वटै वडा तहबाट नियमिति औषधी सेवन गर्न पाईन्छ । 
यस वर्ष ४ जनाको क्षयरोगका कारण मृत्यु
जिल्लामा क्षयरोगकै कारण अघिल्लो वर्ष ४ जनाको मृत्यु भएका थियो भने यस वर्ष पनि ४ जनाको मृत्यु भै सकेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । अघिल्लो वर्ष मृत्यु हुनेमा बडिगाड गाउँपालिकामा १ जना, बागलुङ नगरपालिकामा १ जना जैमिनी नगरपालिकामा १ जना र निसीखोला गाउँपालिकामा १ जना रहेका छन ।  यस वर्ष भने ४ जना नै बडिगाड गाउँपालिकाको रहेका छन ।  
क्षयरोगका कारण हुने मृत्युदर घटाउन समयमै क्षयरोगको पहिचान आवश्यक रहेको आचार्य बताउँछन । “बागलुङमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्न नियमित औषधि सेवन नगर्नु, संकास्पद देखिएमा खुल्न नसक्नु र ढिलो परीक्षण गराउनु लगायतका चुनौती छन, आचार्यले भने,— ‘लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिन्छ । त्यसैले अब परीक्षण र उपचारमा जोड दिने हो ।” उनले गत वर्षको पुरुष संक्रमितको संख्या बढ्दो रहेता पनि यस वर्ष बडिगाडमा संचालन गरिएको शिविरमा महिलाको संख्या बढि रहेको बताए । पुरुष भन्दा महिलाको पहुँच कम हुँदा महिलाहरुमा यो संक्रमण दर अझै बढि देखिएको आचार्यले बताए । क्षयरोग मुक्त पालिका घोषणा अभियानका निम्ती जिल्ला समन्वय  प्रमुख अमर बहादुर थापाको संयोजकत्वमा क्षयरोग मुक्त पालिका घोषा समिति गठन गरिएको छ । कार्यालयले २४ मार्चका दिन पर्ने विश्व क्षयरोग दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम संचालन गरी जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी गराएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले संक्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनचेतनाका अभियान संचालन गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, धौलागिरि अस्पतालकी निमित्त मेसु डा रेखा पौडेल लगायतले स्वास्थ्य उपचारभन्दा पुर्व तयारी र सचेतना आवस्यक भएको बताए । कार्यक्रम तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया