बागलुङ - प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस बागलुङले जनताको साथमा नेपाली काँग्रेस अभियान संचालन गरेको छ । काँग्रेसको केन्द्रीय निर्देशन बमोजिम शुक्रबार जिल्लाका दश वटै स्थानिय तहमा उक्त अभियान संचालन गरिएको हो ।
जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र काँग्रेस नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतालाई जानकारी गराएर स्थानिय तह निर्वाचनको समिक्षा गरी आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबुले जानकारी दिए ।
शुक्रबार बागलुङ नग रकार्यसमितिको आयोजनामा उक्त अभियान सम्पन्न भएको छ । कार्यक्रममामा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचनले आउँदो निर्वाचनमा केन्द्रीय निति अनुसार गठबन्धनमा साझा भएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने बताईन । उनले गठबन्धन किन आवश्यक छ भन्ने कुरालाई प्रष्ट पार्दै देशको समृद्धि र राजनितिक स्थायित्वका लागि पनि गठबन्धन आवश्यक रहेको जानकारी गराईन । शेरचनले निर्वाचन पश्चात पनि फेरी नेपाली काँग्रेसको सरकार बन्ने कुरामा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरिन । उनले अभियान मार्फत जनतालाई काँग्रेसको सरकार र जिल्लामा काँग्रेसले नेतृत्व गरेका स्थानिय सरकारले गरेका कामको बारेमा बुझाउन जरुरी रहेको बताईन ।
कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, काँग्रेस बागलुङका जिल्ला सदस्य जगन्नाथ आचार्य, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद पौडेल र क्षेत्र . १ प्रदेश सभा (क) का सभापति सन्तोष जिसी अभियानलाई सफल बनाएर आउँदो निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरसमितिका सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षता, उपसभापति प्रदिप गौतमको स्वागत र सचिव कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो । अभियान जिल्लाको जैमिनी नगरपालिका काठेखोला गाउँपालिका लगायत सवै स्थानिय तहमा सम्मन्न भएको थियो ।