बागलुङ- सुत्केरी भए पश्चात स्वास्थ्यमा थप समस्या भए पछि जिल्लाको बडिगाड गाउँपालिकाकी एक महिलालाई हेलिकप्टर माफर्त थप उपचारका लागि उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी सत्डाडाकी २६ बर्षिय सिता सामलालाई सोमबार हेलिकोप्टर मार्फत पोखरा पठाईएको हो । आईतबार राती नै घरमा सुत्केरी भएकी सामलाको बच्चा (छोरी) जन्मिएपछि सालनाल नकिस्केका कारण नजिकैको दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरिएको थियो । दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत अनमी राधा गिरी र अहेब दिपक थापा विहान ४ बजे खबर पाए पछि पैदल र पिकअप जिपको सायताले विहान ६ बजे सुत्केरी महिलाको घरमा पुगेका थिए । त्यस पश्चात दुवै स्वास्थ्यकर्मीले सालनाल छुट्याएर सुत्केरी महिलालाई घरमै उपचार गरिए पनि थप सुधार नभए पछि हेलिकप्टर मार्फत पोखरा पठाईएको उपचारमा संलग्न अनमी राधा गिरीले जानकारी दिईन । ‘हामीले राती नै थाहा पाए पछि झण्डै ३ घण्टा लगाएर सुत्केरीमहिलाको घरमा पुग्यौ, त्यहाँ पुग्दा बच्चाको नाल पनि काटिएको थिएन । अनमी गिरीले भनिन्,‘आमा अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई होसमा ल्याउने धेरै प्रयास गरियो, बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत सँग पनि परामर्श गरेर सोही अनुसार उपचार गरियो ।, तर स्वास्थ्यमा झनै जटिलता बढ्दै गए पछि थप उपचारका लागि पोखरा पठाईएको हो ।’ गिरीले बच्चाको अवस्था सामान्य रहेको र आमालाई केही समस्या रहेका कारण पोखराको मणिपाल अस्पतालमा थप उपचारका लागि पठाईएको जानकारी दिईन ।
सोमबार दिउँसो १२ बजे हेलिकप्टर मार्फत सुत्केरी महिलालाई पोखरा पठाईएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरिक्षक देवप्रकाश घिमिरले जानकारी दिए । यस क्षेत्रमा हिँउ परेका कारण मोबाईलको नेटवर्क नभएको र यातायातमा पनि समस्या रहेका कारण उपचारका लागि समस्या भएको थियो । बडिगाड गाउँपालिका र स्वास्थ्य कार्यालय बागलुङको पहलमा प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको सहयोगमा सुत्केरी महिलालाई उद्धार गरिएको थियो । पोखरा लगिए पछि सुत्केरी महिलाको स्वास्थ्यमा केही सुधार आएको पारिवारिक श्रोतले बताएको छ ।
हेलिकप्टर मार्फत उद्धार गरिँदै । तश्विर सौजन्य राधा गिरी