बागलुङ - लामो समय देखी फरार रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई इन्टरपोल मार्फत खोज्न थालिएको छ । बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ अर्व बढि रुपैयाँ बचत हिनामिना पारी फरार भएका नेपालीलाई रेडकर्नर नोटिस जारी खोजी कार्य अगाडी बढाईएको हो । मेयर नेपाली लगायत सहकारी सञ्चालक विरुद्ध १ अर्व ३८ करोड ६३ लाख १३ हजार ५२५ विगो दाबी सहित १ हजार ५ सय ९७ जनाको जिल्ला अदालत बागलुङमा सहकारी ठगीको मुद्धा दर्ता भएर अनुसन्धानको काम अगाडी बढाईएको थियो । सहकारीमा शेयर सदस्य र बचतकर्ता सहित झण्डै डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको थियो ।
सोही आधारमा प्रहरीले अनुसन्धान गरी उनि विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भै सकेको छ । ढोरपाटन–१ घर भएका मेयर नेपाली सहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धानको काम अगाडी बढाईएको छ । देवकुमार नेपाली पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरी थप खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयले एक महिना अगाडी नै प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखालाई रेडकर्नर नोटिसका लागि पत्र पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए । जिल्लाबाट केन्द्रीय कार्यालयमा पत्र पठाए सँगै उनको नाम केन्द्रीय कार्यालयल रेडकर्नर नोटिसमा राखेको बताईएको छ । मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । पोखरा र बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ बजारमा सेवा केन्द्र मार्फत बचत संकलन गरी उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोल मार्फत खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको प्रहरी नायव उपरिक्षक केसीले जानकारी दिए ।
मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो ।
गत साउन ४ गते इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो ।
नेपाली फरार भएपछि बचतकर्ताहरू चरणवद्ध आन्दोलन गर्दै आएका थिए । उनिहरुले जिल्लाका राजनिति दल र विभिन्न सरोकारवाला निकाय सँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिनुहुन आग्रह समेत गरेका छन । पिडितहरुले नेपाली लगायत अन्य फरार संचालकलाई इन्टरपोल मार्फत पक्राउ गर्न स्थानीय प्रशासनसँग माग गर्दै आएका थिए ।
बागलुङ सदरमुकाम सहित गलकोट, बुर्तिवाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीमा आकर्षक ब्याज दिने आश्वासनका कारण सयौंले बचत गरेका थिए । शेयर सदस्य नभएकाहरू धेरैसँग सहकारीले कारोवार गरेको थियो । गत वैशाख ६ गतेको सञ्चालक समितिको बैठकको निर्णय भन्दै वैशाख ७ गतेदेखि इमेज सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि भने सहकारीका अध्यक्ष नेपाली भागेका हुन् । बचतकर्ताको करिव २ अर्ब रकम हिनामिना गरेको आरोप छ ।