• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • पर्यटन

पञ्चकोटमा यज्ञालय निर्माणको थालनी

  • भदौ २२, २०७९

बागलुङ,–    धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको सर्वसिद्धिधाम पञ्चकोटमा यज्ञालय  निर्माणको काम थालनी गरिएको छ ।  बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोटमा  निर्माणधिन अवस्थामा रहेको विश्वशान्ती सर्वसिद्धि धाममा यज्ञालय (हवनकुण्ड) को साथमा पञ्चनारायण मन्दिर निर्माणको काम अगाडी बढाईएको हो ।

यज्ञालय र मन्दिरको बुधबार एक कार्यक्रमका विच शिलन्यास गरिएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, पर्वतको जलजला गाउँपालीकाका अध्यक्ष राजु आचार्य, जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) लगायतले संयुक्त रुपमा शिलन्यास गरेका थिए । झण्डै २ करोड १० लाख रुपैयाँको लागतमा १०८ जनाको सहयोगमा यज्ञालय र मन्दिर निर्माण गरिने छ । ६ महिनामा निर्माण कार्य सक्ने गरी काम अगाडी बढाईएको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका अध्यक्ष एवं परिकल्पनाकार स्वामी कमलनायनाचार्यले जानकारी दिए । 
मन्दिरको शिलन्यास गर्दै बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले पञ्चकोट बागलुङको धार्मिक पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास भएको बताए । उनले सवै धामको एकै ठाउँमा दर्शन गर्ने ठाउँको रुपमा विकास हुन लागेको यस क्षेत्रको विकासका निम्ती सबै तहले पहल थाल्नुपर्ने बताए । श्रेष्ठले पञ्चकोटको विकास सँगै धौलागिरीका अन्य पर्यटकिय क्षेत्रमा पनि आन्तरिक तथा बाह्र पर्यटक बढ्ने बताए । 
कार्यक्रममा पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, पोखराबाट मन्दिरकै लागि सहयोग गर्न आाएका सामाजिक व्यक्तित्व तिर्थ बस्नेत लगायतले पञ्चकोट विश्वकै प्रसिद्ध धार्मिक स्थलको रुपमा विकास हुने बताए । 
स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि वि.सं २०७१ देखि वर्षेनि महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिँदै आएको छ । यज्ञालय र पञ्चनारायणको मन्दिर पनि विभिन्न व्यक्तिहरुकै सहयोगमा निर्माण हुने पञ्कोट विकास परिषदका महासचिव माधव प्रसाद उपाध्यायले जानकारी दिए । 
८ वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै ३० करोड रुपैयाँ भन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको ६० करोड रुपैयाँ लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरीएको छ । कलश निर्माणका लागि  १ तलाको काम भै रहेको र झण्डै ४ करोड रुपैयाँ खर्च भै सकेको महासचिव उपाध्यायले बताए । 

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ ।  पञ्चकोटको विकासका निम्ती नेपाल सरकारबाट १ करोड ८८ लाख विनियोजना भएको छ भने बागलुङ नगरपालिका र अन्य विभिन्न सरकारी निकायबाट पनि रकम विनियोजन भएको छ । यस वर्ष केही संरचना थपिने उपाध्यायले बताए । 
कलश निर्माणपछि पञ्चकोटमा बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि, निलगिरिलगायत दर्जन बढी हिमशृंखला देख्न सकिन्छ ।

No description available.
शिलन्यास कार्यक्रम अध्यक्ष कमलयनाचार्यको अध्यक्षता, महासचिव माधव प्रसाद उपाध्यायको स्वागत र सचिव नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।   

No description available.

प्रतिक्रिया