• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • स्थानीय सरकार ,
  • समाज ,
  • Breaking News ,
  • अर्थतन्त्र

मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरमा यात्रुलाई सधैंको सास्ती

  • भदौ २५, २०७८

बागलुङ-
जिल्लाको जैमिनी नगरपालिका—७ जैदी बोरका विजय रानाले यस पटक तीजको समय घरमा जाँदा एक जनाको भाडा एक हजार एक सय रुपैयाँ तिरे । सामान्यतया उनी घर जाँदा लाग्ने भाडा भनेको चार सय रुपैयाँ थियो । यस पटक भने एघार सय भाडा तिरेर पनि उनी आनन्दले घर पुग्न पाएनन् । बीच बीचमा सास्ती पाईरहे । दक्षिण बागलुङलाई जिल्ला सदरमुकाम बागलुङ बजारसंग जोड्ने मुख्य सडक कालिगण्डकी करिडोर अवरुद्ध भएपछि उनी पर्वतको कुस्मा पुगेर यान्त्रिक पुलबाट बलेवा तरेपछि बल्ला गाडी चढेर जैदी पुगेका हुन् । 
२० औं वर्ष लगाएर यस पटक कालोत्रपे गरिएको एडिबीको बाटो पनि पहिरोका कारण अवरुद्ध छ । अर्को विकल्प करिडोर पनि झरी प¥यो कि पहिरो झर्छ र अवरुद्ध हुन्छ । जसले गर्दा दक्षिण भेगका नागरिकले सास्ती व्यहोर्न बाध्य छन् । मानिसहरुको आवत जावत मात्रै होईन खाद्यान्न लगायतका उपभोग्य वस्तुको ढुवानीमा पनि समस्या भएको छ । ‘माथिल्लो बाटो पहिरोले अवरुद्ध भएको एक महिना भन्दा बढि भयो, कालीगडण्डकी करिडोर पनि पटक पटक अवरुद्ध भैराख्छ,’ राना भन्छन्,‘यसपाली घर आउने बेला पनि पहिरो झरेर अवरुद्ध भएछ । कुस्मा पुगेर बलेवा हुँदै आउँदा एक जनाको गाडी भाडा नै एघार सय रुपैयाँ खर्च भयो ।’
 कालीगण्डकी करिडोर निर्माण भएपछि यसलाई दक्षिण बागलुङका लागि लाईफ लाईन मानिएको छ । तर लाईफलाईन सडकमै नागरिकले सास्ती व्यहोर्दै आएका छन् । बागलुङ नगरपालिका—१० भकुण्डेको फुर्केसल्लामा पटक पटक पहिरो झरिरहने गरेका कारण समस्या पर्ने गरेको छ । त्यस बाहेक करिडोर अन्य विभीन्न ठाउँमा पनि छिया छिया परेको रानाले बताए । ‘मुख्य पहिरोका कारण रोकिने ठाउँ त भई नै हाल्यो अन्य ठाउँहरुमा पनि सडकको अवस्था राम्रो छैन,’ रानाले भने,‘छियाछिया भएका छन् । सरोकार निकायले राम्रोसंग ध्यान दिएको देखिन्न ।’
 नेपाली सेनाले हस्तान्तरण गरेपछि अरु निकायले ध्यान नदिएको सवारी चालक खुसीमान थापाको गुनासो छ । ‘पहिले नेपाली सेनाले पहिरो झरेपछि उतिबेलै सफा गथ्र्यो र काम चल्थ्यो,’ थापाले भने,‘सेनाले हस्तान्तरण गरेर गएपछि अहिले कसैले ध्यान दिएका छैनन् । बर्खाको बेला गाउँको बाटो समस्या नै समस्या छ ।’ दब्ल्याङमा निरन्तर पहिरो झरिरहने समस्याका कारण जनताले समस्या भएको  जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बताए ।
 ‘विस्फोट गराएर चट्टान फुटाउँदा जमिन कमजोर भएकाले करिडोरमा पहिरो झरेको झरै गरिरहन्छ,’ उनले भने,‘पानी आयो कि पहिरो झर्ने भएकाले समस्या भएको छ । पानी नआउँदा खुल्छ पानी आए बन्द हुन्छ ।’ डिभीजन सडक कार्यालय बागलुङका ईन्जिनियर सुरेन्द्र गौतमले प्रयास गर्दा गर्दै समस्या भैरहने गरेको बताए । ‘हामीले निरन्तर यातायात सञ्चालनका लागि निरन्तर प्रयास गरिरहेका छौं,’ उनले भने,‘तर आज यातायात सुचारु हुन्छ भोलीपल्टै फेरी पहिरो झर्ने समस्याले गर्दा गाह्रो भएको छ ।’ 
दक्षिण भेगलाई निरन्तर सडक यातायातको पहुँचमा राख्नका लागि वैकल्पिक मार्गको पहिचान हुनुपर्ने उनको भनाई छ । ‘त्यहाँ पहिरो निरन्तर बगिरहन्छ, पानी प¥यो कि झर्ने भएका कारण सजिलो छैन,’ उनी भन्छन्,‘निरन्तर यातायात सञ्चालनका लागि त वैकल्पिक बाटो पनि खोजी गर्नुपर्ने देखिएको छ ।’ बागलुङ नगरप्रमुख जनकराज पौडेलले सडक डिभीजनले मेसिनले मात्रै नभ्याउँदा नगरपालिकाको डोजरले पनि पहिरो पन्छाउन सहयोग गरेको बताउँछन् । ‘सडक सहज सञ्चालन होस् भनेर हामीले पनि सडक डिजीजनलाई सहयोग गरेका छौं, तर समस्या देखिरहन्छ,’ पौडेलले भने ।
 कालीगण्डकी करिडोर मात्रै होईन सिंगो पश्चिम बागलुङलाई सदरमुकामसंग जोड्ने अर्को राष्ट्रिय गौरवको आयोजना मध्येपहाडी लोकमार्गका पनि हरिविजोग छ । बागलुङ—घोडाबाँधे सडकको ट्रयाक खुलेको २२ वर्ष पुग्यो । मध्येपहाडी लोकमार्गको अवधारणा आएपछि त्यही ट्रयाकबाट लोकमार्ग पश्चिम बुर्तिबाङ निसीखोला हुँदै रुकुम जोडियो । तर बागलुङ बिहुँ खण्डको २५ किलोमिटर सडकको हबिगत अहिले पनि २२ वर्ष अगाडि भर्खर ट्रयाक खुल्दाको अवस्थामा जस्तै छ । यो खण्डमा यात्रुले हिउँदामा धूलो र बर्खामा हिलोका कारण सास्ती व्यहोरिरहेका छन् । 
सम्झौता अनुसार दुई वर्ष अगाडि नै कालोपत्रे भैसक्नुपर्ने सडक ठेकेदारको लाहपरबाही र सराकारवालाको वेवास्ताले नागरिकलाई दुःख दिने थलो बनेको छ । लोकमार्ग बनेपछि त अब चिल्लो बाटोमा गाडी गुड्ने भयो भन्ने सपना देखेका नागरिक हिलो र धूलोमै यात्रा गर्न बाध्य छन् । ‘लोकमार्ग बनेपछि त सरर चिल्लो सडकमा गाडी गुड्लान भन्ने लागेको थियो,’ बागलुङ नगरपालिका—३ खहरेका जंगबहादुर कार्की भन्छन्,‘अहिले यो बिजोग देख्दा उदेग लागेर आउँछ ।’
 लोकमार्गमा गाडी फसेर निकाल्न घण्टौ लाग्ने गरेको सवारी चालकहरुको गुनासो छ । सडकको दुर्दशाका कारण यात्रु र चालक जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य छन् । लोकमार्गको अवधारणा आएपछि नयाँ ट्रयाक खोल्न सुरु गरेका ठाउँहरुमा कालोपत्रे भैसकेको छ । तर जिल्ला सदरकामसंग जोडिएको क्षेत्रमा सडकको विजोग छ । लोकमार्गको जम्ममा २५ किलोमिटर यात्रा गर्न तीन चार घण्टाको समय लाग्ने गरेको बिहुँका भरत सापकोटा बताउँछन् । 
‘यति छोटो दुरीको यात्रा गर्न तीन चार घण्टा लाग्ने गरेको छ, हिलोमा गाडी फसेर घन्टौसम्म निकाल्न समय लाग्छ,’ उनी भन्छन्,‘ठेकेदारले काम नगरेमा सरोकारवाला निकालयले जवाफदेही बनाउनुपथ्र्यो । तर त्यस्तो भएको देखिएन ।’ मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर सडकमध्ये सदरमुकाम जोडिएको २५ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । बुर्तिबाङ—निसीखोलाको बीचका केही मात्रै कालोपत्रे गर्ने काम बाँकी रहेको छ । बागलुङ खण्डको सडकमा बोक्से गैरा सबैभन्दा बढि सास्ती दिने ठाउँ हो । पहिरो झरिरहने ठाउँ भएका कारण समस्या बल्झिरहन्छ ।
 त्यसको दीर्घकालीन समाधान खोज्न पनि सरोकारवालाले ध्यान दिएका छैनन् । गत मंसिरमा बागलुङ बिहुँ खण्डका दुई निर्माण कम्पनीले असार भित्रै सम्पन्न गर्नेगरी जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित सम्झौता गरे पनि त्यो कार्यान्वयन भएन । बागलुङ—अक्षेते खण्डको सिद्धिसाई प्रकाश जेभी र माथिल्लो खण्डको जिम्मा लिएको एमपी एसिएफ इसिभी जेभीका प्रतिनिधिले लिखित प्रविद्धता गरेका थिए । लिखित सम्झौता कार्यान्वयन गराउनुपर्ने सरोकार निकाय भने ठेकेदार जोगाउने जवाफ दिएर पन्छिन्छन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले यस पटक वैशाख जेठबाटै झरी सुरु भएकाले लोकमार्ग कालोपत्रे हुन नसकेको बताउँछन् ।
 ‘प्रतिवद्धता अनुसार सुरु समयमै निर्माण कम्पनीले काम नगरेको त पक्कै हो तर पछिल्लो समयमा निकै रफ्तारमा काम भएको थियो,’ उनी भन्छन्,‘वैशाख जेठबाटै पानी पर्न थालेपछि पानी परेको बेला कालोपत्रे गर्दा गुणस्तर आउँदैन भनेर हामीले नै कालोपत्रको लागि रोक लगाएका हौं ।’ निर्माण कम्पनीले सडकको बेश र सब—बेश निर्माण गरेर कालोपत्रेका लागि तयारी गरेकाले काम लागेको खण्डमा दुई महिना भित्र काम सकिने उनी बताउँछन् । 
‘अब निर्माण कम्पनीहरुले चाहेर पनि त्यो काम त्यत्तिकै छोडेर जाँदैनन् किनकी उनीहरुले त्यहाँ करोडौंका सामान बिच्छ्याईसकेका छन्, कालोपत्रे नभएसम्म हामीले भुक्तानी दिंदैनौं,’ मरासिनीले भने,‘भुक्तानी नपाई हिँड्नुपर्ने भयो भने उनीहरुलाई ठूलो नोक्सानी हुन्छ । दुबै निर्माण कम्पनी अहिले सम्पर्कमै छन् । हामीले काम लगाउने वाताबरण भएको अवस्थामा उनीहरु काम गर्छन् ।’ कोरोना लगायतका समस्याका कारण सरकारले चैत मसान्तसम्म समयावद्धि थपिदिएको उनले बताए ।
 मध्य पहाडी क्षेत्रका २५ जिल्लाका २ सय १५ वटा बस्तीलाई जोड्ने १ हजार ७ सय ७६ किलोमीटर लोकमार्गको १ सय ४२ किलोमिटर बागलुङमा पर्छ ।  यो लोकमार्ग सम्पन्न भएपछि केही जिल्ला सदरमुकामहरु राष्ट्रिय सडक सञ्जालमा जोडिनेछन् भने मुलुकभरका करिब ७० लाख नागरिक यसबाट लाभान्वित हुनेछन् । 
 

प्रतिक्रिया