बागलुङ- नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे सरकारले गरेको “पोलिटिक स्टन्ट”को विरुद्धमा काँग्रेसले संसदमा आफ्ना आवाज उठाई रहेको बताएका छन । उनले पछिल्ला दिनमा सरकारले गरेका उत्शृङ्खलताको विरुद्धमा काँग्रेसले निरन्तर खबरदारी गरेको बताए । नेपाली काँग्रेस बागलुङका पूर्व सभापती एवं पूर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलको प्रथम बार्षिक पुण्य तिथिको अवसरमा आयोजित स्मृती सभा तथा स्व. कंडेलको नाममा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता आङ्देम्बले सरकार आफ्नै पार्टीका सांसदबाट घेरामा परेको बताए ।
“उहाँहरुले गरेका एक सय दिनमा गछौंँ भन्ने प्रतिवद्धता पनि पानीको फोकाजस्तै पट्टपट्ट फुटेको सवै जनताले देख्नुभएको छ । पार्टी हैन मत परिवर्तन गरेका हौँ भन्नेले पनि देख्नु भएको छ । नेता आङ्देम्बले भने,– “आज यो नाममा आएको पार्टी र यिनले नेतृत्व गरेका सरकारबाट रातारात मेरो भविश्य परिवर्तित हुन्छ र मैले चाहना राखेको मुलुक परिवर्तन हुन्छ भन्ने सपना रातारात ठुटेको छ । उहाँहरुले आफै पुर्पुरोमा हात राख्नुपर्ने आवस्था आएको छ । ”
उनले यसका बाबजुत पनि प्रमुख प्रतिपक्ष दलको नाताले सरकारलाई सच्चिनुहोस भनेर आग्रह गरिएको तर सच्चिने छाटकाट नभएको बताए । उनले जनताले दिएको सवैभन्दा ठुलो विश्वासलाई अहिलेको सरकारले आत्मसाथ गरेर काम गर्न नसकेकोमा जिकिर गरे ।
नेता आङ्देम्बाले सरकार कहाँबाट सञ्चालित भइरहेको छ भन्ने कुरा कसैलाई पनि स्पष्ट नभएको बताएका छन् । पछिल्ला समय सरकारले गरेका गतिविधिका कारण सरकार कुनै बाह्य शक्तिको प्रभावमा परिचालित भएको आभास हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
उनले भने, “हामीले उहाँहरूका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ । प्रतिपक्षले देखाएको आत्मीयता, प्रेम र सद्भावकै कारण अहिलेको सरकार टिकिरहेको छ । हामीले हरेक महत्त्वपूर्ण विषयमा सहयोग गरेका छौँ । ‘राम–राम’ भन्न सकिएला, तर सधैँ काँध थापेर हिँड्न सकिँदैन । यो न संसदीय मर्यादासँग मेल खान्छ, न विकास–निर्माणको दृष्टिले सन्तोषजनक देखिन्छ । उहाँहरूकै संगठनभित्रबाट हेर्दा पनि अहिलेको कार्यशैली कतै मेल खाँदैन । मुलुकलाई दिशाहीन र अव्यवस्थित ढंगले हाँकिएको जस्तो देखिएको छ । यस्तो अवस्थामा प्रतिपक्ष अझ जिम्मेवार बन्नुपर्छ ।” उनले सरकारको कार्यशैलीले मुलुकलाई भड्खालोतर्फ धकेल्ने त होइन भन्ने काँग्रेसलाई चिन्ता रहेको बताए । सरकारले उत्ताउलोपन देखाउन खोजेका धेरै विषयमा हामीले पटक–पटक खबरदारी गरेका छौँ । चाहे सुकुम्बासीको समस्या होस्, संवैधानिक परिषद्सम्बन्धी गलत प्रवृत्ति होस् वा अन्य राष्ट्रिय विषय—हामीले निरन्तर आवाज उठाउँदै आएका छौँ आङ्देम्बले भने । ”
उनले आफूहरूले पार्टीले दिएको जिम्मेवारी र संसदप्रतिको दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गरिरहेको बताए । “हामी विरोधका लागि मात्र विरोध गर्ने प्रतिपक्ष होइनौँ । परिणाम दिनका लागि संसदमा भूमिका निर्वाह गरिरहेका छौँ । देश र जनताको हितका लागि आवश्यक परे सत्तापक्षसँग सहकार्य गर्न पनि हामी तयार छौँ । उनले भने, –“आजको प्रतिपक्ष हिजोको जस्तो छैन । विगतमा सत्ता प्राप्तिका लागि विरोध गर्ने प्रवृत्ति हुन सक्थ्यो, तर आजको प्रतिपक्ष त्यस उद्देश्यले संसदमा आएको होइन । हामी परिणाममुखी भूमिका निर्वाह गर्न चाहन्छौँ र सदनभित्र नेपाली कांग्रेसको गहकिलो तथा जिम्मेवार उपस्थिति देखाउन चाहन्छौँ । त्यसअनुसार नै आफ्ना विचार र धारणा प्रस्तुत गरिरहेका छौँ ।”
पार्टीभित्र हुने मतभेद र विचार–विमर्शलाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले पार्टीभित्रका आरोह–अवरोहले कहिलेकाहीँ बाटो अलमलिएको जस्तो देखिन सक्छ यसलाई समाधान तर्फ लानुपर्ने बताए । उनले पार्टीको विधान विपरित कोही पपनि बाहिर जानु नहुने बताए । हामी पार्टीको विधान मान्नुपर्दछ, संविधान मान्नु पर्दन विधि र विधान भन्दा बाहिर कोही पनि जानु हुँदैन । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई हामी सवैले स्विकारेर अगाडी बढ्नुको विकल्प नरहेको हुँदा सवै एक भएर आएको समस्यालाई समाधान तर्फ लानुपर्ने बताए ।
स्वर्गीय गोविन्द प्रसाद शर्मा कँडेलको योगदान स्मरण गर्दै आङ्देम्बले भने, “गोविन्द प्रसाद शर्मा कँडेल निष्ठा, इमानदारी र समर्पणका प्रतीक नेता रहेको र उहाँको योगदान अतुलनिय हुने बताए । उनले स्व. कंडेलको योगदानलाई पार्टीले मात्र होइन, देशले पनि कहिल्यै बिर्सनु नहुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय, काँग्रेस बागलुङका सभापती एवं गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित शेरचन, पुर्व सभापती एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पूर्व सभापती दिपेन्द्र बहादुर थापा लगायतले स्व. गोविन्द्र प्रसाद शर्मा कंडेल नेपाली राजनिति मात्र नभएर सिंगो समाजकै ज्योती र धरोहर भएको चर्चा गरेका थिए ।
कार्यक्रममा स्व. कंडेलको स्मृतिमा प्रकाशन गरिएको व्यक्ति एक व्यक्तित्व अनेक नामक पुस्तक समेत विमोचन गरिएको थियो ।
पुस्तकका सम्पादकले रामचन्द्र कंडेलले स्व. कंडेलको जिवनीका बारेमा चर्चा गरेका थिए । कार्यक्रम गोविन्द प्रसाद शर्मा कंडेल प्रतिष्ठानका संरक्षक नबिन कंडेल को अध्यक्षता काठेखोला गाउँपालिका –५ का वडा अध्यक्ष ज्ञामनाथ कंडेलको स्वागत प्रतिष्ठानका अध्यक्ष शेखर कंडेलको धन्यबाद मन्तव्य र प्रतिष्ठानका सल्लाहकार हरिप्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।