बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाका सवै स्थानिय तहका वडा र टोल सम्म निर्वाचन लक्षित कार्यक्रम संचालन गरेको छ । स्थानिय तहमा काँग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक वडा र टोल टोलमा पुग्ने गरी जिल्ला भरी नै घरघर जाऔं काँग्रेस जिताऔं ‘जनता सँग नेपाली काँग्रेस’ अभियान संचालन गरिएको हो ।
अभियानको क्रममा शनिबार जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामै सवै भन्दा बढि काँग्रेसका नेता तथा कार्यकर्ता रहेको यस वडामा वडामा स्थानिय तहको निर्वाचनका लागि बनाउनुपर्ने रणनितिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वलाई सवल र सक्षम काँग्रेस निर्माणका निम्ती गुट उपगुटको अन्त्य गर्न जरुर रहेको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलले आगामी स्थानिय तहको निर्वाचनमा आफ्नो पक्षमा चुनाव जित्नका लागि काँग्रेसले तल्लो तह सम्म रणनिति तय गर्ने बताए । उनले नेपालका कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रका कारण नेपाली जनताले दुःख पाएको हुँदा जनताको पहिलो रोजाई नै काँग्रेस हुने बताए । उनले आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मत पार्नका निम्ती आफ्ना धारणा सहित गाउँ गाउँमा पुगेर जनतालाई बुझाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले बलियो काँग्रेस निर्माणकै निम्ती गाउँ र टोल स्तरका कार्यकर्ताको मुख्य भुमिका हुने बताए । उनले आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसले सवै जनताको चाहना अनुसार आफ्ना मुद्धा उठाएर सोही अनुसारका उम्मेदवारलाई अगाडी सार्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, काँग्रेस महाधिवेशन प्रतिनिधि एवं बानपा–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, काँग्रेसका जिल्ला सदस्य सिता सापकोटा, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’ क्षेत्र नं. १ प्रदेश (ख) का सचिव बालकृष्ण शर्मा, प्रदेश महाधिवेशन प्रतिनिधि राधिका कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानको उद्देश्यका बारेमा काँग्रेस बागलुङका जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गरी प्रत्येक कार्यकर्ताको घरदैलोमा पुग्नका लागि जिल्ला व्यापी नै यो अभियान संचालन गरिएको जिल्ला सदस्य आचार्यले बताए ।
कार्यक्रम नेपाली काँग्रेस पैयुँपाटाका उपसभापति एकनाथ रेग्मी स्वागत र सचिव विजय पौडेलको संचालनमा सम्पन्न भएको थियो । अभियान शनिबार नै काठेखोला गाउँपालिका–१ पालामा पनि सम्पन्न भएको छ ।