सामाजिक सञ्जालमा भ्रम नफैलाउन गलकोटका दलहरुको आग्रह

  • साउन १५, २०८३

गलकोट  !  गलकोट नगरपालिकाभित्र सक्रिय विभिन्न राजनीतिक दल तथा गलकोट उद्योग वाणिज्य संघले सामाजिक सञ्जाल मार्फत फैलाइएका भ्रामक, आधारहीन तथा समाजमा भ्रम सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।  विभिन्न फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल मार्फत गलकोटका सरकारी तथा गैरसरकारी संस्था, उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा विभिन्न व्यक्तिहरूमाथि निराधार आरोप लगाउने, अपुष्ट सूचना तथा अनावश्यक विषयवस्तु प्रचार–प्रसार गर्ने कार्य भइरहेको भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । 
साथै कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्मित नकारात्मक सन्देशयुक्त फोटो तथा भिडियोहरू समेत सामाजिक सञ्जालमा प्रचार–प्रसार भइरहेकाले यस्ता सामग्रीलाई विश्वास नगर्न तथा प्रचारमा सहयोग नगर्न सबैमा आग्रह गरेको छ ।  संयुक्त विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको भए पनि सो अधिकार प्रयोग गर्दा कानुन, सामाजिक मर्यादा तथा अरूको प्रतिष्ठाको सम्मान गर्नु सबै नागरिकको दायित्व भएको उल्लेख गरिएको छ । कुनै पनि व्यक्ति वा संस्था विरुद्ध पर्याप्त प्रमाणबिना आरोप लगाउने, अपवाह फैलाउने तथा भ्रम सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन विपरीत हुने विज्ञप्तिमा जनाइएको छ ।
कसैले जानाजान झुटा सूचना, मानहानि हुने सामग्री वा सामाजिक वैमनस्य फैलाउने गतिविधि गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुन बमोजिम निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउनुपर्ने संयुक्त माग गरिएको छ । आवश्यक परे यस विषयमा कानुनी प्रक्रियामा अघि बढ्न सबै पक्ष एकमत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । गलकोट नगरपालिकाको शान्ति, सामाजिक सद्भाव, सुशासन, पारदर्शिता तथा विधिको शासनलाई थप सुदृढ बनाउन सबै पक्षबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि संयुक्त विज्ञप्ति मार्फत व्यक्त गरिएको छ । 
उक्त संयुक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर सभापति राजेन्द्र पुन, नेपाली कांग्रेस गलकोट नगर सभापति वीरजङ्ग भण्डारी, नेकपा (एमाले) गलकोट नगर कमिटीका कार्यवाहक अध्यक्ष ईश्वर बोहोरा, नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर संयोजक गंगा बहादुर भुजेल, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टक बहादुर के.सी. र गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतमले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।  

प्रतिक्रिया