बागलुङ, - जिल्लाको गलकोट क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा भ्रम फैलाउने गतिविधि बढेको भन्दै ती कार्यहरू रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाइएको छ। गलकोट क्षेत्रका विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरूको संयुक्त सहभागितामा प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त ज्ञापनपत्र पेस गरिएको हो।
पछिल्लो समय हाम्रो गलकोट लगायतका विभिन्न सामाजिक सञ्जालका आइडी तथा पेजमार्फत गलकोट नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी संस्था, उद्योगी व्यापारी, सामाजिक अभियन्ता, जनप्रतिनिधि र विभिन्न व्यक्तित्वहरूलाई लक्षित गरी आधारहीन आरोप लगाउने गरिएको छ। साथै, अस्पष्ट र भ्रामक सामग्री प्रकाशन गर्नुका साथै एआईको प्रयोग गरी बनाइएका भ्रमपूर्ण तस्बिर तथा भिडियोहरू सार्वजनिक गर्ने कार्य निरन्तर भइरहेकोप्रति ज्ञापनपत्रमा गम्भीर आपत्ति जनाइएको छ।
यस्ता गतिविधिले व्यक्तिको प्रतिष्ठामा गम्भीर आघात पुर्याउनुका साथै समाजमा भ्रम, अविश्वास, द्वन्द्व र सामाजिक सद्भावमा समेत नकारात्मक प्रभाव पारेको छ। नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरे पनि यसको प्रयोग गर्दा कानुन, सामाजिक मर्यादा र अरूको प्रतिष्ठाको सम्मान गर्नुपर्ने दायित्व रहेको स्मरण गराइएको छ। साइबर माध्यमबाट हुने यस्ता गतिविधिहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता, २०१४ अन्तर्गत अनुसन्धान गरी कानूनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।
उक्त ज्ञापनपत्र राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय जनमोर्चाका गलकोट नगर समिति तथा गलकोट उद्योग वाणिज्य संघतर्फबाट संयुक्त रूपमा बुझाइएको हो।
ज्ञापनपत्र ग्रहण गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्ने, द्वन्द्व बढाउने र व्यक्तिको चरित्रहत्या गर्ने जस्ता गतिविधि सैह्य नहुने बताएका छन्। उनले ज्ञापनपत्रमा उठाइएका विषयहरू गम्भीरतापूर्वक लिइएको बताउँदै यस्ता भ्रामक कार्यमा संलग्न व्यक्तिहरूको खोजी गरी प्रचलित कानून बमोजिम कडा कारबाही गर्न सुरक्षा निकायलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, सोही टोलीले जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत औपचारिक रूपमा उजुरी दर्ता गराएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले उजुरी दर्ता भएको पुष्टि गर्दै घटनाको तत्काल अनुसन्धान सुरु गरी दोषीलाई कानूनी दायरामा ल्याउने बताएका छन्। उनले यस प्रकारका साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग आवश्यक समन्वय गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। जिल्लामा सामाजिक सद्भाव, शान्ति, सुशासन र विधिको शासन कायम राख्न प्रशासन र प्रहरी दुवै तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाइएको छ।

