मोडिफाइड गरेका १० मोटरसाइकल नियन्त्रणमा

  • जेठ २२, २०८३

बागलुङ- साइलेंसर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, मापदण्डविपरीत नम्बर प्लेट जडान गर्ने तथा प्राविधिक संरचनामा अवैधानिक परिवर्तन गरिएका मोटरसाइकलहरुको बागलुङ प्रहरीले विशेष निगरानी अभियान थालेको छ। ध्वनि प्रदूषण नियन्त्रण, ट्राफिक अनुशासन कायम तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत तीन दिनमा १० वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको संयुक्त प्रयासमा जेठ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीका अनुसार सवारी साधनमा गरिने अवैधानिक परिमार्जनले ध्वनि प्रदूषण बढाउनुका साथै सर्वसाधारणलाई समेत असहज बनाउने र दुर्घटनाको जोखिम थप्ने भएकाले अभियानलाई कडाइका साथ अघि बढाइएको हो ।

“सवारी साधनलाई मापदण्डविपरीत परिमार्जन गर्दा ध्वनि प्रदूषण बढ्ने मात्र होइन, सडक सुरक्षामा समेत प्रत्यक्ष असर पर्छ। त्यसैले यस्ता गतिविधिविरुद्ध नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिएका छौं,” डीएसपी त्वातीले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवरका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ६ वटा बुलेट, ३ वटा क्रसफायर र १ वटा एनएस रहेका छन्। ती मोटरसाइकलमा साइलेंसर, नम्बर प्लेट तथा अन्य संरचनागत परिवर्तन गरिएको भेटिएको उनले बताए । 

प्रहरीले नियन्त्रणमा लिइएका सबै मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पठाएको जनाएको छ। साथै, सवारी साधनलाई मापदण्डविपरीत परिमार्जन नगर्न, ध्वनि प्रदूषण फैलाउने गतिविधिमा संलग्न नहुन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।

प्रहरीले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाएको छ। मोडिफाइड सवारी साधनमाथिको निगरानीलाई थप प्रभावकारी बनाउँदै सडक सुरक्षा र शान्त वातावरण कायम गर्न कडाइ गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय